छोरी जन्मने वित्तिकै आमालाई एक हजार भत्ता !


बैतडी- छोरी जन्माए वापत बैतडीका दोगडाकेदार गाउँपालिकाका दुई सय बढी आमाले प्रोत्साहन भत्ता पाएका छन् । गाउँपालिकाभित्र गत आर्थिक वर्षको अवधिमा छोरी जन्माएका २ सय १२ आमालाई प्रोत्साहनस्वरुप एक÷एक हजारका दरले भत्ता दिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले जानकारी दिएका छन् ।

गत वर्षदेखि नै दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई एक हजार प्रोत्साहन भत्ता दिन शुरु गरेको थियो । सरकारले संस्थागत सुत्केरी भएबापत एक हजार र चार पटक गर्भजाँच गराएमा थप रु चार सय दिँदै आएकोमा स्वास्थ्य संस्थामा आएर छोरी जन्माउने आमालाई गाउँपालिकाले थप रु एक हजार प्रोत्साहन भत्ता दिन शुरु गरेको हो ।

छोरा र छोरी भनेर गरिने विभेद अन्त्य गर्ने उद्देश्यले छोरी जन्मिए प्रोत्साहन भत्ता दिन थालिएको दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताइन् । ।

“छोराछोरीबीचको विभेद अन्त्य हुने विश्वास लिएका छौँ, छोरी पनि छोरा समान हुन् भन्ने सन्देश दिन र समाजमा समानता कायम गर्नका लागि छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ता दिन थालिएको उहाँको भनाइ रहेको छ ।”  छोरी जन्मिदा आमालाई प्रोत्साहनभत्ता दिने दोगडाकेदार गाउँपालिका बैतडीकै पहिलो गाउँपालिका हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement