काठमाण्डु – भारतीय टेलिभिजन न्यूज च्यानल जी न्यूजका प्रधान सम्पादक सुधीर चौधरीलगायतको टोली शनिबार नेपाल आए । उनको टोलीले आइतबार बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग समसामयीक विषयमा अन्तर्वार्ता लिए ।
छिमेकमा के हुँदैछ भनेर जान्नु महत्त्वपूर्ण छ । उनीहरुबीच नेपालले भारतलाई किन ठूलो भाईको रूपमा व्यवहार गर्न चाहँदैन भन्ने सम्बन्धमा कुराकानी भएको थियो ।
प्रधानमन्त्री ओलीले पनि अंग्रेजी र हिन्दी भाषामा अन्तर्वार्ता दिँदै निर्धक्क भएर नेपालको सार्वभौमसत्ता र देशहरुबीचको सम्बन्ध समान हैसियतको हुनुपर्छ भन्ने स्पष्ट अभिव्यक्ति दिए । सार्बभौमसत्ता सम्पन्न नेपाली जनताको शिर उचो राख्ने शब्दहरू बोल्दै प्रधानमन्त्रीले आफूमा ज्ञान र बौद्धिकताको कमी नरहेको समेत अन्तर्वार्तामा बताएका थिए ।
संसद विघटन गरेर चुनावी घोषणा गरेपछि सर्वत्र आलोचना हुँदै आइरहेका बेला जी न्यूजलाई दिएको अन्तर्वार्तापछि प्रधानमन्त्री ओली धन्यवादका पात्रसमेत बनेका छन् ।
प्रतिगमनविरुद्धको बहसलाई मोड्न प्रधानमन्त्रीले नक्कली ‘राष्ट्रवादी स्टण्ड’ गरेको टिप्पणी विपक्षीहरुले गरिरहेका छन् । यसै बेला सुधीरले एउटा यस्तो भिडियो रिपोर्ट सार्वजनिक गरे, जसले निकै चर्चा पायो । उनले प्रधानमन्त्रीसँग अन्तर्वार्ता लिएको भोलिपल्ट नै विश्वकै सर्वोच्च शिखर ‘सगरमाथामा भारतको पनि दावी हुनुपर्छ’ भन्दै आपत्तिजनक रिपोर्ट प्रशारण गरे ।
नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वाभिमानका विरुद्ध लगातार आपत्तिजनक समाचार प्रशारण गर्दै आएको जी न्युजलाई प्रधानमन्त्रीस्तरबाटै बालुवाटारमा स्वागत गरिएको परिघटनाले थप आशंकित र आक्रोशित तुल्याएको छ ।
संविधान लत्याएर प्रतिगमनको बाटोमा हिँडेका ओलीलाई सत्ता टिकाउने नाममा राष्ट्रिय स्वाधीनता र स्वाभिमानमा गम्भीर आँच पुर्याउने ब्यक्ति र संस्थाहरुसंग रहस्यमय र अपारदर्शी भेटघाट र सांठगांठ गरेको भन्दै विपक्षीहरुले आपत्ति जनाएका छन् ।
तर, राष्ट्रियता सम्बन्धि यस्तो संवेदनशील बिषयमा नेपाल सरकारका तर्फबाट भने कुनै आधिकारिक प्रतिक्रिया आएको छैन । यस्तो संवेदनशील बिषयमा सरकार मौन रहनुलाई रहस्यमयी भएको बुझिन थालिएको छ ।
यस्तो थियो जी न्यूजले प्रशारण गरेको रिपोर्ट:
सुधीर चौधरीले अनुमति नै नलिई सगरमाथा आधार शिविर कालापत्थरमा पुगेर सगरमाथालाई ‘माउन्ट सिकदर’ नाम दिनु पर्ने र त्यसमाथि भारतले विश्वसामु दाबी गर्नु पर्ने भन्दै भिडियो रिपोर्ट प्रसारण गरेका थिए ।
सुधीरले सगरमाथा क्षेत्रको कालापत्थरमा उभिएर भनेका छन्, ‘आज यो ठाउँबाट तपाईंहरूलाई म केही बताउन चाहन्छु । म भन्न चाहन्छु कि माउन्ट एभरेस्टमाथि भारतको पनि दाबी हुनुपर्छ ।’
रिपोर्टमा उनले भारतसँग सगरमाथाको साइनो भएको समेत दाबी गर्दै यसबारे सन् १८५२ को घटनाको जानकारी दिएका छन् ।
उनले भनेका छन्, ‘आज म यहाँ उभिएर भन्न चाहन्छु कि भारतसँग माउन्ट एभरेस्टको के साइनो छ ? वर्ष १८५२ मा राधानाथ सिकदरले पहिलोपटक माउन्ट एभरेस्टको उचाइ मापन गरेका थिए । सर्भे अफ इन्डियाले उनलाई यो जिम्मेवारी दिएको थियो । उनलाई आदेश थियो, तपाईं जानुहोस् र माउन्ट एभरेस्टको उचाइ नापेर आउनुहोस् ।’
चौधरीले बंगालका राधानाथ सिकन्दरले माउन्ट एभरेस्टको उचाइ नापेको दावी गर्दै माउन्ट एभरेस्टको उचाइ नाप्ने उनी नै पहिलो व्यक्ति भएको दावी गरेका छन् ।
उनले रिपोर्टमा भनेका छन्, ‘भारतमा त्यसवेला अंग्रेजको शासन थियो, त्यसैले उनीहरूले आफ्नो हिसाबले नाम राखिदिए । एन्ड्रयु वा जो जर्ज एभरेस्टका उत्तराधिकारीको रूपमा सर्भे अफ इन्डियाको प्रमुख थिए । उनले यो शिखरको नाम माउन्ट एभरेस्ट राखिदिए ।’
नेपाल सरकारको नापी विभाग र चीन सरकारको स्वतन्त्र मापन पश्चात सगरमाथाको उचाइ ८८४८.८६ मिटर प्रमाणित भएको एक महिना नहुँदै भारतीय मिडियाबाट यस्तो अनर्गल प्रचार भएको हो ।
केही समयअघि भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका भूभागलाई समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय टेलिभिजनले नेपालमाथि विभिन्न आरोप लगाएका थिए ।
जी न्यूजसहितका भारतीय सञ्चारमाध्यमहरुले नेपालले चीनको उक्साहटमा नयाँ नक्सा जारी गरेको आरोप लगाएका थिए । जी न्यूजबाट उक्त कार्यक्रम सुधिरले नै सञ्चालन गरेका थिए । उनले पछि ट्वीटरबाट माफी समेत मागेका थिए ।
पटकपटक नेपाली अस्मिता र स्वाभिमानमाथि धावा बोल्दै आइरहेका सुधीरले यो पटक भने सगरमाथामाथि आधारहीन र कपोकल्पित ढंगले आपत्तिजनक रिपोर्ट प्रशारण गरेका हुन् ।




प्रतिक्रिया