सगरमाथाको उचाई नाप्न २७ करोड लाग्ने


काठमाडौं- विश्वको सर्वोच्च शिखर सगरमाथा नाप्न २७ करोड रुपियाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। मापन प्रक्रियालाई टुंग्याउन सरकारले यस आर्थिक वर्ष १५ करोड रुपियाँ बजेट विनियोजन गरेको छ। यसअघि २ करोड रुपियाँ छुट्याइएकामा यस वर्ष बजेटको दायरा सरकारले फराकिलो बनाएको नापी विभागले जनाएको छ। विभागका महानिर्देशक गणेशदत्त भट्टले एक दर्जन बढी प्राविधिक टोलीले लेभलिङको कामलाई अघि बढाएको बताउनुभयो।

सिरहाको मिर्चैयादेखि लेबलिङ शुरू गरिएकोमा हाल टोली ओखलढुंगाको ढाप पुगिसकेको छ। सगरमाथा उचाइ मापन सचिवालय समितिका संयोजक सुशील डंगोलका अनुसार यस आर्थिक वर्षभित्र सोलुखुम्बुको सिमानासम्म लेभलिङ सकिनेछ।

नेपाल आफैले सगरमाथाको उचाइ नाप्ने कार्य शुरू गरेको यो पहिलोपटक हो। मापन कार्यले टुंगो लगाउन सके निकट भविष्यमै सगरमाथाको उचाइ कति छ भन्ने पत्ता लाग्ने छ। विभागका महानिर्देशक भट्टले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘सगरमाथाको उचाइ मापनका लागि हामी लागिरहेका छौं। २५ करोड रुपियाँ बजेटले नाप्ने काम सकिन्छ। अब थप १० करोड रुपियाँ चाहिन्छ। सगरमाथाको उचाइ नेपाल आफैले नाप्नु गौरवको कुरा हो।’

सरकारसँग माग गरिएको बजेट मापन कार्यलाई आधिकारिक तुल्याउन अन्तर्राष्ट्रिय विज्ञ, अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्राविधिक यन्त्र, मापन कार्यमा खटिनेका लागि विशेषज्ञ तालिम, कर्मचारीहरूमा खर्च हुने बताइएको छ। दुई वर्षभित्र काम पूरा गर्ने लक्ष्यसहित विभागले आफ्नो काम अघि बढाएको विभागका महानिर्देशक भट्टले बताउनुभयो। आजको समाचारपत्रमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement