काठमाण्डु– पछिल्लो २४ घण्टामा देशका विभिन्न क्षेत्रमा भारी वर्षा भएको छ। केही स्थानमा १५० मिलिमिटरभन्दा बढी वर्षा मापन हुँदा आज पनि पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा बागमतीको मकवानपुर र चितवन, गण्डकीका म्याग्दी, स्याङ्जा, तनहुँ र नवलपरासी पूर्व तथा लुम्बिनीका पाल्पा र नवलपरासी पश्चिमका केही स्थानमा १५० मिलिमिटरभन्दा बढी वर्षा भएको छ।
त्यस्तै कास्की, लमजुङ, बागलुङ, पर्वत, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची र सर्लाहीका केही स्थानमा १०० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ।
भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्र कमजोर हुँदै गएसँगै नेपालमा वर्षाको गतिविधि पनि क्रमशस् घट्दै जाने उनले बताएका छन् ।
आज रातिदेखि भने मौसममा निकै सुधार आउने र भारी वर्षाको सम्भावना नरहेको मौसमविद् अधिकारीले जानकारी दिए।
आज रातिको समयमा कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा अन्य प्रदेशका थोरै स्थानमा मात्र मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।
अधिकारीका अनुसार उत्तर प्रदेश आसपास अवस्थित न्यूनचापीय क्षेत्र नेपालको लुम्बिनी र सुदूरपश्चिम प्रदेशको दक्षिणतर्फ रहेकाले ती क्षेत्रमा वर्षाको गतिविधि केन्द्रित भएको हो ।
न्यूनचापीय क्षेत्रसँगै बंगालको खाडीबाट जलवाष्प बोकेको हावा पनि गएराति नेपालको मध्य भूभागतर्फ केन्द्रित भएको थियो ।
अहिले न्यूनचापीय प्रणाली विस्तारै कमजोर भइसकेको र त्यसको थोरै मात्र प्रभाव बाँकी रहेकाले आज पनि वर्षाका केही गतिविधि हुने उनले बताए ।




प्रतिक्रिया