काठमाण्डु – मंकीपक्स सङ्क्रमणको मृत्युदर चार प्रतिशत पुगेको छ । पछिल्ला केही हप्तादेखि तीव्र गतिमा फैलिरहेको र मृत्युदर उच्च भएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वव्यापी समस्या बन्न सक्ने चेतवानी दिएको छ ।
यस अघि महामारीका रुपमा फैलिएको कोभिड–१९ को मृत्युदर एक प्रतिशत भन्दा पनि कम रहेकोमा मंकीपक्सको चार प्रतिशत भन्दा धेरै हुनु समस्यापूर्ण रहेको डब्ल्यूएचओको भनाइ छ । अफ्रिकामा एक हप्तामै एक हजार दुई सय जनामा मंकीपक्स सङ्क्रमण प्रमाणित भएको छ ।
योसँगै सन् २०२४ को जनवरीदेखि अफ्रिकामा कुल १८ हजार सात सय ३७ जनामा मंकीपक्स सङ्क्रमण पुष्टि भएको अफ्रिकी युनियन स्वास्थ्य एजेन्सीले जनाएको छ । अफ्रिका बाहिर स्विडेन र पाकिस्तानमा पनि यस हप्ता मंकीपक्स सङ्क्रमण फेला परेको छ । मंकीपक्स सङ्क्रमणको फैलने क्रम तीव्र बनेपछि डब्ल्यूएचओको आपत्कालीन समितिले सम्बन्धित निकायसँग खोप उत्पादन बढाउन आह्वान गरेको छ ।
मंकीपक्स संक्रमितले अर्को व्यक्तिलाई छुँदा पनि सर्न सक्छ । मंकीपक्सको कुनै निश्चित औषधि छैन । लक्षणअनुसार उपचार गर्ने गरिएको छ ।
यता, सरकारले नेपाल पनि मंकीपक्स संक्रमणको जोखिममा रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै मंकीपक्स संक्रमणविरुद्ध पूर्वतयारी थालिसकेको जानकारी दिँदै नागरिकलाई स्वयम् सचेत हुन आग्रह गरेको छ ।
जोखिम नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले हवाई तथा स्थल नाकाहरूमा हेल्थ डेस्क स्थापना गरेको छ । सरुवा रोगको निगरानी गर्न तीनै तहका निकायहरूलाई सतर्क गराइसकेको र सबै प्रदेशमा यस रोगको निदान तथा व्यवस्थापनका लागि अस्पताल र चिकित्सक तोकिसकेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयबाट पूर्वतयारी प्रतिकार्य र व्यवस्थापन भएपनि आमनागरिकबाट जनस्वास्थ्यका मापदण्ड पालना भए मात्र मंकीपक्सको रोकथाम र नियन्त्रणका लागि सम्भव हुने भएकाले सबैलाई जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरिएको छ ।
मन्त्रालयका अनुसार केही समय यता अफ्रिकी मुलुक कोंगोमा मंकीपक्स भाइरसको अधिक घातक संस्करण ‘क्लेड १बी’ का बिरामीहरू उल्लेखनीय रूपमा बढिरहेको जनाउँदै सबैलाई सचेत तुल्याएको हो ।
एम पक्स संक्रमणमा ज्वरो आउने, ज्वरो शुरु भएको एकदेखि तीन दिनभित्र छाला, अनुहार, हत्केला, र पैतालामा डाबर देखा पर्ने, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किने र आँखामा संक्रमण भइ दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वर, गर्भ खेर जाने र मृत्यु समेत हुनसक्छ ।
प्रतिक्रिया