मुग्लिन–नारायणगढ सडक खुल्यो, देशभरका १५ राजमार्ग बन्द (सूची)

मुग्लिन–नारायणगढ सडक खुल्यो, देशभरका १५ राजमार्ग बन्द (सूची)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पहिरोले अवरुद्ध मुग्लिन–नारायणगढ सडक आज बिहान ८ बजेदेखि खुलेको छ। सडक डिभिजन भरतपुरले आज बिहान ८ बजे सूचना जारी गर्दै सडक खुलेको जानकारी दिएको हो ।

बिहानैदेखि मेसिन परिचालन गरी बाँकी रहेको पहिरो हटाएसँगै सवारी आवागमन दुईतर्फी सञ्चालनमा आएको छ । यस्तै अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशभरका १५ मुख्य राजमार्ग अबरुद्ध बनेका छन् ।

मंगरबार बिहानको तथ्याङ्क अनुसार बागमती, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका धेरै सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

कोशी प्रदेशमा मेची राजमार्ग (इलामको राजदुवाली) र मध्य पहाडी लोकमार्ग (पाँचथरको ओयाम र फलैँचा) पूर्ण रूपमा अवरुद्ध छन् ।

उदयपुरको कटारीमा सिद्धिचरण लोकमार्गका तीन स्थानमा पहिरो खसेकाले सडक ठप्प छ । भोजपुरमा भने मध्य पहाडी लोकमार्ग एकतर्फी मात्र सञ्चालनमा छ । यता ओखलढुङ्गा र खोटाङका अवरुद्ध सडकहरू भने पूर्ण रूपमा सुचारु भइसकेका छन् ।

ललितपुरको बागमती गाउँपालिकास्थित भट्टेडाँडा र भालु खोलामा पहिरो खसेका कारण कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै, मकवानपुरको ईन्द्रसरोवरमा पहिरो जाँदा फाखेल–कुलेखानी सडक पनि बन्द रहेको छ । काभ्रेको विपि राजमार्गमा सम्भावित बाढीको जोखिमका कारण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

गण्डकी प्रदेशको सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको सुम्रेखोलामा पहिरो झर्दा सडक पूर्ण रूपमा बन्द भएको छ । कास्कीका ग्रामीण सडकहरू र म्याग्दीको बेनी–दरवाङ सडक खण्ड पनि पहिरोका कारण अवरुद्ध छन् । लुम्बिनी प्रदेशको अर्घाखाँचीस्थित सालझण्डी–ढोरपाटन सडक र गुल्मीको कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध रहेका छन् ।