मुगुमा पहिलो पटक अदालती विवाह


मुगु –  मुगुमा पहिलो पटक अदालती विवाह (कोर्ट म्यारिज) भएको छ । यसअघि परम्परा, धर्म, संस्कृति तथा रीतिरिवाजअनुसार विवाह हुँदै आएकोमा पहिलो पटक अदालतीमार्फत कानुनी प्रक्रिया पूरा गरी विवाह भएको हो ।

सोरु गाँउपालिका–७, सिपगाँउका ७० वर्षीय प्यारीलाल काफ्ले र खत्याड गाँउपालिका–४ जिउका गाँउका ४२ वर्षीया जानकी रोकायाबीच आज जिल्ला अदालत मुगुमा विवाह भएको हो । आफूहरूबीच २८ वर्षको फरक भए पनि आफू कसैको दबाब तथा लोभमा नपरेको जानकी रोकायाले बताए ।

विवाहको कानुनी प्रक्रिया पूरा गरी जिल्ला न्यायाधीश दिलकुमार वर्देवाले विवाहित जोडीलाई प्रमाणपत्र प्रदान गरे । न्यायाधीश वर्देवाले जिल्लामा पहिलो पटक अदालती विवाह भएको जानकारी दिए ।

काफ्लेकी श्रीमतीको २०७७ असोज १८ मा निधन भएको थियो भने रोकायाले गत पुस ४ मा श्रीमान्सँग सम्बन्धविच्छेद गरेकी थिइन् । दुवै जनाको सहमति र साक्षीहरूको उपस्थितिमा अदालती विवाह सम्पन्न भएको जिल्ला अदालत मुगुका श्रेष्तेदार गोविन्द आचार्यले बताए । ७० वर्षको उमेरमा अदालती विवाह गरेपछि गमगढी बजारमा नयाँ जोडी हेर्नेको भिड लागेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement