मुकुल ढकालको चेतावनी–रविलाई ठग, भ्रष्टाचारी र अपराधी प्रमाणित गर्न सक्छु

मुकुल ढकालको चेतावनी–रविलाई ठग, भ्रष्टाचारी र अपराधी प्रमाणित गर्न सक्छु


काठमाण्डु-राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालले सभापति रवि लामिछानेलाई ठग, भ्रष्ट्राचारी र राहदानी दुरूपयोग गर्ने अपराधीका रुपमा प्रमाणित गर्न सक्ने दाबी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत पार्टीले अन्तिमपटक सोधेको स्पष्टीकरणको जवाफ पेस गर्दै उनले रविको कुकर्मको पर्दाफास गर्नु पार्टीविरुद्ध लाग्नु नभएको बताएका छन् ।

पार्टीको भदौ ५ मा बसेको केन्द्रीय समिति बैठकले मुकुललाई साधारण सदस्यबाट निलम्बन गर्नु पूर्व अन्तिम एकपटक स्पष्टीकरण दिने मौका दिएको थियो ।

आज स्पष्टीकरण बुझाउँदै उनले सभापति लामिछानेको कुकर्मको पर्दाफास गर्ने भन्दै लेखेका छन, ‘राष्ट्रिय ठगको चर्चा राष्ट्रिय स्तरमा हुन्छ, पार्टीभित्र मात्र सीमित हुँदैन । तपाईँजस्तो ठग, भ्रष्ट र अपराधीको कब्जाबाट पार्टीलाई मुक्त गराएरै छाड्छु ।’

‘तपाईं ठग, भ्रष्ट्राचारी र राहदानी दुरूपयोग गर्ने अपराधी हो भनेर प्रमाणित गर्न सक्छु । कारबाहीको दुस्साहस गर्दै हुनुहुन्छ, सक्नुहुन्छ भने मलाई गलत सावित गर्नुहोस्,’ उनले भनेका छन् ।

उनले राष्ट्रिय ठगको चर्चा राष्ट्रियस्तरमा नै हुने पनि बताएका छन् ।

‘तपाईंको कुकर्मको पर्दाफास गर्नु पार्टीविरूद्ध लाग्नु होइन, यो पार्टी हितमा हो । राष्ट्रिय ठगको चर्चा राष्ट्रियस्तरमा हुन्छ, पार्टीभित्र मात्र सीमित हुँदैन । तपाईं जस्तो ठग, भ्रष्ट र अपराधीको कब्जाबाट पार्टीलाई मुक्त गराएरै छाड्छु,’ उनले भनेका छन् ।

पार्टीविरुद्ध लागेको भन्दै कारबाहीमा परेका महामन्त्री ढकाललाई रास्वपाले पटक पटक प्रश्न सोधेको थियो । पछिल्लो पटक बसेको पार्टी केन्द्रीय समिति बैठकले ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोधेको थियो ।