यसरी बगर बन्यो मुलकोट र खुर्कोट (तस्बिरहरू)

यसरी बगर बन्यो मुलकोट र खुर्कोट (तस्बिरहरू)


काठमाण्डु-सिन्धुलीको सुन्दर पर्यटकीय क्षेत्र मुलकोट र खुर्कोट अहिले बगर बनेको छ ।

लगातारको वर्षा र पहरोले वितण्डा मच्चाउँदा मुलकोट र खुर्कोट बगरमा परिणत भएको हो । मुलकोट र खुर्कोटमा अहिले हिलो र लेदो मात्रै छ ।

रोशी र सुनकोशी नदीमा आएको बाढीले यी दुबै बजार डुबानमा पर्दा दर्जनौं घर भत्केका छन् ।

आइतबार नदीमा आएको बाढीको बहाब कम हुँदै गएको छ । नदी आफ्नै लयमा फर्किदै गए पनि डुबान र कटानका कारण बजार तथा बस्तीहरू बगरजस्तै बनेका छन् ।

सुनकोसी नदीमा आएको बाढीका कारण सुनकोशी गाउँपालिका–५ स्थित मुलकोट बजार, सित्खा, खैरनी, रातमाटा र गोलन्जोर गाउँपालिका–७ को खुर्कोट बाजर पूरै डुबान परेको छ ।

सुनकोसी गाउँपालिका–५ मुलकोटमा पशुपति आधारभूत विद्यालयसँगै दर्जनौं होटल तथा रिसोर्ट र बस्तीहरु डुबानमा परेको छ ।

बाढीका कारण करोडौं रुपैयाँ लगानी गरेर निर्माण गरिएका होटल तथा रिसोर्टमा क्षति पुगेको छ । मूलकोटमा मात्र ६० बढी घरहरू डुबानमा परेका छन् ।

त्यस्तै सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोट बजार पनि सुनकोसी नदीको डुबानमा पर्दा अहिले बगरजस्तै भएको छ । सय बढी होटल तथा पसलहरू नष्ट भएका छन् ।