काठमाडौं -कसैले कसैको धर्म परिवर्तन गराउन वा सो कुराको उद्योग गर्न वा दुरुत्साहन गराए पाँच वर्षसम्म कैद र पचास हजार रूपैयाँ जरिबाना हुने भएको छ । भदौ १ गतेदेखि कार्यान्वयनमा आउन लागेको मुलुकी अपराध (संहिता) ऐन, २०७४ मा यो व्यवस्था गरिएको छ ।
कसैले लेखेर, वचनले वा आकार वा चिह्नद्वारा वा अरु कुनै पनि किसिमबाट कुनै जात, जाति, सम्प्रदाय वा वर्गको धार्मिक भावनामा आघात पुर्याएमा दुईवर्षसम्म कैद र बीसहजार जरिबानाको व्यवस्था ऐनमा गरिएको छ । एनेको दफा १५८ मा धर्म परिवर्तन गराउन नपाउने व्यवस्था गरिएको छ । ऐनमा भनिएको छ–कसैले कसैको धर्म परिवर्तन गराउन वा सो कुराको उद्योग गर्न वा दुरुत्साहन दिन हुँदैन ।”
त्यसैगरी ऐनमा कुनै पनि धार्मिक स्थल वा पवित्र मानिएको स्थानलाई क्षति पुर्याउन नहुने व्यवस्था गरिएको छ । कसैले क्षति पुर्याएमा तीनवर्ष कैद र तीसहजार जरिबाना ऐनमा व्यवस्था गरिएको छ । तर विदेशीले यस्तो कसुर गरे वा गराएको रहेछ भने तीनवर्ष कैद र तीस हजार जरिबानासहित ७ दिनभित्र देश निकाला गर्ने व्यवस्था गरेको छ ।
उपदफा (२) मा भनिएको छ– कसैले कुनै जात, जाति वा सम्प्रदायमा सनातनदेखि चली आएको धर्म, मत वा आस्थामा खलल पार्ने कुनै काम वा व्यवहार गर्न वा खलल हुने गरी कुनै प्रलोभन देखाई वा नदेखाई अन्य कुनै धर्ममा परिवर्तन गराउन वा धर्म परिवर्तन गराउने नियतले त्यस्तो धर्म वा मत प्रचार गर्न हुँदैन ।”
यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रूपैयाँसम्म जरिबाना हुने व्यवस्था ऐनमा छ । ऐनमा विदेशीले त्यस्तो कसुर गरेमा कैद भुक्तान गरेको सातदिनभित्र देश निकाला गर्ने व्यवस्था रहेको छ ।




प्रतिक्रिया