संविधान दिवसमा राष्ट्रपतिबाट माफी पाएका लोकबहादुरले गरे होटलमा लगेर महिलाको हत्या


काठमाण्डु – राष्ट्रपतिबाट बाँकी कैद मिनाहा गरिएका रुकुम पश्चिममा एक व्यक्तिले जेलमुक्त भएको २५ दिनमा एक महिलाको हत्या गरेको पाइएकाे छ ।

गत असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट कैद माफी भएर कारागार कार्यालय रुकुमबाट कैदमुक्त भएका रुकुमपश्चिमको सानीभेरी गाउँपालिका –९ का ३३ वर्षिय लोकेन्द्र भनिने लोकबहादुर बिकले होटेलमा लिएर एक महिलाको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

लोकबहादुरले मुसीकोट नगरपालिका -७ साँखकी २८ वर्षिया भावना बिकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक (डिएसपी) नमराज भट्टराईले जानकारी दिए । भावनाको हत्या गरेको आरोपी लोकबहादुरले स्विकार गरेको, दशिप्रमाण र अनुसन्धानका क्रममा समेत खुल्न आएको भन्दै प्रहरीले लोकहादुरलाई बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

लोकबहादुर गत असोज ३ गते नवौ संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट कैद माफि गरिएपछि कैदमुक्त भएका व्यक्ति हुन् । उनै लोकबहादुरले कैदमुक्त भएको २५ दिनपछि असोज २९ गते सोमबार भावनालाई मुसीकोट नगरपालिका –१ खलङगा बजारको होटेल सत्कारमा हत्या गरेको प्रहरीको दाबी छ ।

अघिल्लो दिन होटेल पुगेका उनीहरुले त्रिवेणी गाउँपालिकाका विकास केसीको नाममा श्रीमान्-श्रीमती नाता उल्लेख गरेर होटेलको कोठा नम्वर १ बुक गरेका थिए । दुबै जना २९ गते बिहान १० बजेवाट सम्पर्कमा नआएपछि ३० गते बिहान बन्द कोठा खोलेर हेर्दा भावनाको शव सिरकले छोपिएको अवस्थामा भेटिएको थियो । लोकबहादुरले भावनाको घाँटिमा धारिलो चक्कु प्रयोग हत्या गरेको डिएसपी भट्टराईले बताए ।

मृतकको श्रीमान् र हत्या आरोपीको श्रीमती हाल बैदशिक रोजगारीमा रहेको बताईन्छ । प्रहरीले घटनास्थलबाट धारिलो चक्कु, चक्कुको खोल, नगद ८५ हजार ८३५ रुपियाँ र प्रतिबादीको मोबाईल समेत बरामद गरेको छ ।

प्रतिवादी कारागार मुक्त भए यता २५ दिनमा १२४ पटक दुई जना बिचमा मोबाईलमा कुराकानी भएको, प्रतिवादी कारागारमा रहँदा मृतक दुई पटक भेट्न गएको कुरा खुल्न आएको प्रहरीले उल्लेख गरेको छ ।

हत्या आरोपी लोकबहादुरले बहुविवाह मुद्धामा रुकुम कारागारमा कैद भुक्तान गरेका थिए ।  २०८० माघ १९ गते कैदमुक्त हुुनुपर्ने लोकबहादुरलाई ७ महिना १२ दिन कैद भुक्तान गरेको र असल चालचलन रहेको भनी राष्ट्रपतिबाट बाँकि कैद मिनाहा गरिएको थियो । प्रहरीले लोकबहादुर बिरुद्ध कर्तव्य ज्यान मुद्धा शीर्षकमा मुद्धा दर्ता गरेर थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement