श्रीमती नै श्रीमान्को हत्याको योजनाकार


वीरगन्ज- श्रीमतीकै सुखका लागि आमा–बुबासमेत बिर्सेर मुग्लान हानिएको श्रीमान्को हत्याको योजनाकार त्यही श्रीमती हुन्छिन् भने हाम्रो समाज कतातर्फ गइरहेको होला चिन्तित हुनुपर्ने बेला आएको छ। प्रेमको विषयमा चलचित्रमा मेल खाने शैलीमा पर्साको वीरगन्जमा भएको यस्तै एउटा घटनाले यस्तै सोच्न बाध्य बनाएको हो।

प्रहरीले सुनाएको घटना विवरणअनुसार करिब १० वर्ष विदेशमा रोजगारी गरेर फर्केका उमेश चौरसियामाथि जिल्ला प्रहरी कार्यालय पर्साकै अगाडि बुधबार राति करिब ९ः३० बजेतिर गोली प्रहार भयो। शुरूमा चौरसियामाथि आपराधिक समूहले गोली हानेको हुनसक्ने आशंका थियो। तर, २४ घण्टा बित्न नपाउँदै प्रहरीले जे पत्ता लगायो, त्यो कुनै फिल्मको दृश्यभन्दा कम थिएन।

पर्सा प्रहरीले बिहीबार घटनामा संलग्न भएको अभियोगमा पक्राउ परेका ४ जनालाई सार्वजनिक गरेपिछ सत्य बाहिर आएको हो। पक्राउ पर्नेमा प्रियंका चौरसिया, बारा परवानीपुर गाउँपालिका–१ का २४ वर्षीय विकेन्द्रकुमार गुप्ता, २७ वर्षीय मनोज गुप्ता, वीरगन्ज १२ मुर्लीका २५ वर्षीय मुन्ना साह कानु छन्। पक्राउ परेकी प्रियंका घाइते उमेशकी पत्नी हुन्।

प्रियंका काठमाडौंबाट पक्राउ परेकी हुन् भने अरूलाई वीरगन्ज–४ बिर्ताबाट पक्राउ गरिएको थियो। घटनामा बरामद गरिएको मोटरसाइकल वीरगन्ज ११ श्रीपुरबाट र पेस्तोल वीरगन्ज १२ मुर्लीबाट बरामद गरिएको प्रहरीले जनाएको छ।

धागो ब्यापारी वीरगन्ज महानगरपालिका १३ का चौरसिया रोजगारीको शिलशिलामा दुबईमा बसेका थिए। यता अनमीसमेत रहेकी प्रियंका र अपोलो ट्रमा सेन्टर वीरगन्जमा कार्यरत सीएमए विकेन्द्र गुप्ताबीच प्रेम अंकुराइरहेको थियो। उमेश फर्केपछि समस्यामा परेकी प्रियंकाले प्रेमी विकेन्द्रसँगै मिलेर हत्या योजना बनाइकी थिइन्। प्रहरीका अनुसार उनीहरूले उमेशको हत्याका लागि मनोजलाई २५ हजार दिएर ७५ हजार रुपियाँ हत्यापछि दिने बताएका थिए। मनोजले त्यही रकमबाट पहिचान नखुलेको व्यक्तिबाट ११ हजार रुपियाँमा १२ बोरको बन्दुकको गोली फिट हुने १ राउन्ड गोलीसहितको कटुवा पेस्तोल खरिद गरेका थिए।

पर्साका प्रहरी नायब उपरीक्षक राजन लिम्बूका अनुसार विकेन्द्रले मनोजलाई मोटरसाइकलसमेत उपलब्ध गराएका थिए। कामको शिलशिलामा बुटवलबाट फर्कदै गरेका उमेशलाई प्रियंकाकै सूचनाबमोजिम पिछा गर्दै मनोजले घर पुग्नुअघि नै गोली हानेका थिए।

 

घटनामा प्रयोग भएको पेस्तोल प्लास्टिकको बोराभित्र राखी बालुवामा गाडेको अवस्थामा बरामद भएको छ। सीसीटीभी फुटेजले गर्दा अपराधीहरू पत्ता लगाउन सहज भएको प्रहरीले बताएको छ।घाइते उमेशलाई काठमाडौँको नर्भिक अस्पतालमा ल्याएर उपचार गराइएको छ। आजको समाचारपत्रमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement