मुगु सामूहिक हत्या प्रकरण: पोस्टमार्टमका लागि चारै जनाको शव सदरमुकाम ल्याइयो


मुगु – जिल्ला प्रहरी कार्यालय मुगुले मृतावस्थामा फेला परेका एकै परिवारका आमासहित दुई छोरा र एक छोरीको शव परीक्षणका लागि जिल्ला सदरमुकाम गमगढी ल्याएको छ ।

छायानाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा र एक छोरी गत शुक्रबार मृतावस्थामा फेला परेका थिए ।

मृतास्थामा फेला पर्नेमा छायानाथ रारा –६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । उनले चारैजनाको शव परीक्षणका लागि जिल्ला सदरमुकाम गमगढी ल्याइएको र आज शव परीक्षण हुने बताए ।

अहिलेसम्मको प्रारम्भिक अनुसन्धानबाट चारैजनाको धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको प्रहरीले अनुमान लगाएको छ । छायाँनाथ रारा–६ का वडाध्यक्ष खेमबहादुर रावलका अनुसार श्रीदेवीका श्रीमान् दीपक घर आइसकेपछि शव उठाइएको हो ।

शनिबार बिहान कोहलपुरबाट कुकुरसहितको अनुसन्धान टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ भने प्रदेश प्रहरी कार्यालयको अनुसन्धान विशेष टोली पनि अनुसन्धानमा सक्रिय छ । घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट दक्षिण पूर्वमा रहेको छ ।

मृतक आमा श्रीदेवी छोराछोरीसहित कात्तिक ७ गते दसैंको टीका थाप्न उक्त वडामा रहेको माइती गाउँ कोटिल्ला गएकी थिइन् । माइतीबाट टिका, जमरा लगाएर छोराछोरी सहित उनी ८ गते बेलुका घर फर्किएकी थिइन् । उक्त राति सामूहिक हत्या गरिएको प्रहरीले जानकारी दिइएको थियो ।

छिमेकीहरूले कात्तिक ९ गते बिहानदेखि श्रीदेवीको घरमा ताला लगाएको देखेपछि बिहानै सिमी टिप्न खेतगरातिर गएका होलान् अनुमान लगाएका थिए ।

१० गते बिहान पनि घरमा ताला लगाएको देखेपछि छिमेकीहरूले फेरि श्रीदेवी माइती गए कि भनी माइतीमा फोन गर्दा ८ गते नै गएको भनेपछि छिमेकीले गत शुक्रबार बिहान १० बजेतिर ढोकाको ताला फाडेर भित्र हेर्दा चारै जनाको हत्या भएको देखेका जनाइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
Advertisement