वीभत्स हत्याको एक साताअघि : जब थुक्पामा सिसा भेटिएको थियो

वीभत्स हत्याको एक साताअघि : जब थुक्पामा सिसा भेटिएको थियो


पाँचथर – पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ मा गएराति ९ जनाको हत्या भएको छ। दुई परिवारका ९ जनाको हत्या भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ। प्रहरी निरीक्षक अरुणकुमार पौडलका अनुसार मध्यरातमा दुई परिवारका नौ जनाको हत्या भएको हो। ‘घटना निर्मम देखिन्छ’, पौडेलले भने, ‘गहन अनुसन्धान अघि यसै भन्न सकिन्न।’

हत्या हुनेमा अनुमानित ७०-७५ वर्षीया बमबहादुर फियाक, श्रीमती ७०-७५ वर्षीया पुर्सिमाया फियाक, कान्छी छोरी ३५ वर्षीया मनकुमारी फियाक, बमबहादुरकी नातिनी (साइँली छोरीकी छोरी) १० वर्षीया आसिका खजुम रहेका छन्।

त्यसैगरी बमबहादुरका ज्वाइँ अनुमानित ३३–३४ वर्षीया धनराज शेर्मा, श्रीमती ३५ वर्षीया जस्मिता फियाक, छोरी १२ वर्षीया युहाना शेर्मा, छोरी १० वर्षीया मुना शेर्मा, भाइकी छोरी (भतिजी० ८ वर्षीया इक्सा शेर्माको हत्या भएको हो। घटनास्थलबाट भाग्न सफल अनुमानित १५–१६ वर्षीया सीता खजुम घाइते छन्। उनलाई उपचारका लागि झापा पठाइएको छ।

पारिवारिक कनेक्सन

प्रहरीले घटना पारिवारिक झगडाका कारण भएको आशंका गरेको छ। श्रीमतीसहित मध्यरातमा ससुराली र साढु दाइको परिवारको हत्या भए लगत्तै मिक्लाजुङ ८ का मानबहादुर माखिम झुन्डिएको अवस्थामा भेटिएपछि प्रहरीले घटनामा परिवारको संलग्नताको आशंका गरेको हो।

‘घटनास्थलमा पुगेका एक प्रहरी अधिकारीले भने, ‘घटनाको अनुसन्धान धेरै कोणबाट गर्नुपर्ने देखिन्छ। पारिवारिक झगडासमेत रहेकाले आजै आत्महत्या गरेका मानबहादुरमाथि पनि शंका गर्ने ठाउँ छन्।’

मानबहादुर मनकुमारीका श्रीमान हुन्। उनको घर घटनास्थलबाट करिब साढे दुई घण्टाको पैदलमा पर्छ। पारिवारिक बेमेल भएपछि मनकुमारी मानबहादुरलाई घरमा छोडेर माइत बस्दै आएकी थिइन्।

घटनास्थलमा बच्न सफल सीता खजुमले एकजना मखुण्डो लगाएका व्यक्तिले आक्रमण गरेको प्रहरीलाई बताएकी छन्। यो भनाइले प्रहरीको अनुसन्धान ज्वाइँ मनबहादुतर्फ केन्द्रित भएको देखिन्छ। हत्या भएका फियाक र शेर्मा परिवारको घर १५ मिनेटको पैदल दूरीमा पर्छ। यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।