म्याग्दी-धौलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट मङ्गलवार साँझ पुनःहिमपहिरो खसेको छ ।
मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले पहिले खसेको पहिरोको केही थुप्रो खसेको जानकारी दिए ।
पहिरोले बस्ती जोखिममा नपरेको तर केही घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको थासाङ गाउँपालिका अध्यक्ष प्रदिप गौचनले जानकारी दिए ।
मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मूलखर्कमा भदौ ७ गते अपराह्न पनि हिउँ पहिरो खसेको थियो । थासाङ गाउँपालिका–२ का वडाध्यक्ष समेत रहेका थासाङ गाउँकार्यपालिकाका प्रवत्ता गौतम शेरचनले हिमपहिरोले बोक्सीखोला पूर्ण रुपमा थुनिएको बताए ।
‘यसअघिको पहिरो मूलखर्क क्षेत्रमा थुप्रिएको थियो, मङ्गलवारको हिमपहिरो बोक्सीखोलाको नजिकै धेरै तलसम्म आएको छ’, उनले भने, ‘हिमपहिरोले बोक्सीखोला पूर्ण रुपमा थुनिएकाले सतर्कता अपनाइएको छ ।’
बोक्सीखोला कालीगण्डकीको सहायक नदी हो । आसपासमा बस्ती नभए पनि बेनी–जोमसोम सडक बोक्सीखोलामा पर्दछ । यसअघि २०७८ कात्तिक २८ र फागुन २१ गते थासाङ गाउँपालिका–२ कोवाङमा टुकुचे हिमालबाट आएको हिमपहिरोले एक सय ५० भन्दाबढी चौँरीगाई मरेका थिए ।
प्रतिक्रिया