म्यादी प्रहरी छनोटसम्बन्धी कार्यविधि स्वीकृत : भदौ ३० देखि आवेदन खुला


काठमाण्डु – गृह मन्त्रालयले आसन्न निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी छनोटसम्बन्धी कार्यविधि स्वीकृत गरेको छ ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी छनोट गर्नेबारे प्रहरी प्रधान कार्यालयले तयार पारी पठाएको मापदण्ड गृह मन्त्रालयले स्वीकृत गरेको हो ।

प्रहरी प्रवक्ता (डीआईजी) टेक प्रसाद राईले १ लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि प्रहरी हेडक्वाटरले पठाएको मापदण्ड गृहले स्वीकृत गरेको जानकारी दिए । उनका अनुसार अब भदौ ३० गतेदेखि असोज ६ गतेसम्म आवेदन खुला हुनेछ।

स्वीकृत मापदण्डअनुसार असोज ९, ११, १२, १३ र १४ गते ५ दिन भित्र म्यादी प्रहरी छनोट प्रक्रिया पूरा गरिनेछ । असोज २५ गते नतिजा प्रकाशन गरिनेछ भने असोज २७ र २८ गते नियुक्ति पत्रको तयारी गरिनेछ । असोज ३० गते नियुक्ति पत्र वितरण गरी म्यादी प्रहरीको तालिम दिन थालिने छ ।

कात्तिक ८ गते तालिम सम्पन्न गरी कात्तिक ९ गते युनिफर्ममा प्रहरीसँग डिउटीमा खटाइनेछ । चुनाव सम्पन्न भएपछि मंसिर ८ गते म्यादी प्रहरीलाई बिदा गरिने तालिकामा उल्लेख छ ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई पहिलो प्राथमिकता दिनेगरी कार्यबिधि पारित गरिएको छ । गत निर्वाचनमा खटिँदा रेकर्ड राम्रो भएकाहरुले तालिम र परीक्षामा पनि सहुलियत पाउँने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement