म्यान्मारमा सेनाको व्यापक हवाई आक्रमण, ४९ जनाको मृत्यु

म्यान्मारमा सेनाको व्यापक हवाई आक्रमण, ४९ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी– म्यानमारमा सेनाले व्यापक हवाई आक्रमण गरेको छ । म्यान्मारको पश्चिमी रखाइन राज्यमा विद्रोही समूहको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ भने ५८ जना घाइते भएका छन्।

सोमबार भएको उक्त आक्रमणको जानकारी विद्रोही समूह र उद्धार अधिकारीले दिएका हुन्।

पश्चिमी रखाइन राज्यमा भएको यो आक्रमण प्रजातन्त्र समर्थक प्रतिरोधी समूह तथा जातीय सशस्त्र संगठनविरुद्ध म्यानमार सेनाले देशभर गर्दै आएका घातक हवाई आक्रमणको पछिल्लो घटना भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

म्यानमारमा सन् २०२१ फेब्रुअरी १ मा सेनाले आङ सान सुकी नेतृत्वको निर्वाचित सरकार अपदस्थ गरी सत्ता कब्जा गरेपछि राजनीतिक संकट चुलिएको हो।

सुरक्षा निकायले शान्तिपूर्ण प्रदर्शनमाथि घातक बल प्रयोग गरेपछि सैन्य शासनका धेरै विरोधीले हतियार उठाएका थिए। त्यसयता देशका ठूलो भूभागमा सशस्त्र द्वन्द्व जारी छ।

सोमबारको आक्रमण मण्डलेबाट करिब ३४० किलोमिटर पश्चिममा रहेको क्याउक्ताव टाउनसिपमा भएको हो। उक्त क्षेत्र रखाइनमा प्रभावशाली जातीय सशस्त्र समूह अराकान आर्मी (एए) को नियन्त्रणमा रहेको समूहले जनाएको छ।

आक्रमणको विवरण स्वतन्त्र रूपमा पुष्टि गर्न भने सम्भव भएको छैन।

अराकान आर्मीले मंगलबार बिहान जारी गरेको विज्ञप्तिमा स्थानीय बजारनजिक सोमबार दिउँसो एउटा लडाकु विमानले दुईवटा बम खसालेको जनाएको छ। आक्रमणमा बजारका व्यापारी, ग्राहक तथा पैदलयात्रीको मृत्यु भएको समूहको दाबी छ।

समूहका अनुसार थप ५८ जना घाइते भएका छन्, जसमध्ये २२ जनाको अवस्था गम्भीर रहेको छ।

अराकान आर्मीले आक्रमणमा ठूलो जनधनको क्षति भएको भन्दै जिम्मेवार व्यक्ति तथा संस्थाविरुद्ध “प्रभावकारी प्रतिकारात्मक कदम” चाल्ने चेतावनी दिएको छ।

रखाइनका वरिष्ठ उद्धार अधिकारी वाई हुन आङले घटनास्थलमा रहेका उद्धारकर्मीलाई उद्धृत गर्दै मृत्यु र घाइतेको संख्या पुष्टि गरेका छन्। उनका अनुसार उक्त बजार क्षेत्रकै प्रमुख थोक व्यापार केन्द्र हो, जहाँ राज्यका विभिन्न स्थानबाट व्यापारी तथा ग्राहक आउने गर्छन्।

उनले भने, “यो रखाइनमा भएका सबैभन्दा गम्भीर हवाई आक्रमणमध्ये एक हो।”

सामाजिक सञ्जालमा सार्वजनिक गरिएका तस्बिर तथा भिडियोमा भवनहरूमा आगलागी भएको, सवारीसाधनमा क्षति पुगेको र नजिकैको पुलको केही भाग ध्वस्त भएको देखिन्छ।

म्यानमार सेनाले घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन। सेनाले यसअघि आफूले वैधानिक सैन्य लक्ष्यलाई मात्र निशाना बनाउने दाबी गर्दै आएको छ भने प्रतिरोधी समूहहरूलाई आतंकवादी संगठनका रूपमा आरोप लगाउँदै आएको छ।

अराकान आर्मी रखाइनका जातीय अल्पसंख्यकका लागि म्यानमारको केन्द्रीय सरकारबाट स्वायत्तता माग गर्दै आएको आन्दोलनको सशस्त्र तथा शक्तिशाली सैन्य संगठन हो। समूहले नोभेम्बर २०२३ मा रखाइनमा ठूलो सैन्य अभियान सुरु गरेको थियो। त्यसयता उसले रणनीतिक रूपमा महत्वपूर्ण क्षेत्रीय सैन्य मुख्यालयसहित राज्यका १७ मध्ये १४ वटा टाउनसिप कब्जा गरिसकेको छ।

रखाइनमा युद्ध चर्किएपछि म्यानमार सेनाले व्यापारिक मार्गमा कडा प्रतिबन्ध लगाएको छ। यसका कारण क्षेत्रमा खाद्यान्न अभाव थप गम्भीर बनेको छ।

यसअघि डिसेम्बरमा रखाइनको म्राउक–यू टाउनसिपस्थित एक अस्पतालमा म्यानमार सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ३४ जनाको मृत्यु र ८० जना घाइते भएका थिए।