म्यानमारको संकटकालबारे नेताहरुको प्रतिक्रियाः विश्वव्यापी विरोध जरुरी छ !

म्यानमारको संकटकालबारे नेताहरुको प्रतिक्रियाः विश्वव्यापी विरोध जरुरी छ !


काठमाण्डु – म्यानमारमा सेनाले आंग साङ सुकी लगायतका अधिकारीहरुलाई पक्राउ गरेर संकटकाल घोषणा गरेपछि नेपालका राजनीतिक दलहरुले पनि विरोध जनाएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले म्यानमारको सरकारमा सैन्य प्रवेश निन्दनीय भएको बताएका छन् । उनले मानवीयताको बाटो लोकतन्त्र नै भएको बताउँदै आफुहरु प्रतिगमन विरुद्ध भएको बताएका हुन् ।

‘म्यानमार घटनाको विश्वव्यापी विरोध जरुरी ! निर्वाचन निष्पक्षताको विवादित प्रश्नमा सैन्य प्रवेश निन्दनीय !’, उनले भनेका छन्, ‘यद्यपी रोहिङ्या समुदायमाथि सुकि सत्ताको ब्यवहारको पुरानो घटना अमानवीय थियो । तर मानवीयताको बाटो फेरिपनी लोकतन्त्र नै हो हामी हरेक प्रतिगमनविरुद्ध छौं । देशमा होस् या परदेशमा ।’

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहका केन्द्रीय सदस्य विष्णु रिजालले सुकीले सत्ता सम्हाल्दा पनि आफ्नो इशारामा हिंडाएको सेनालाई राजनीतिको लत लाग्दा के हुन्छ भन्ने उदाहरण म्यान्मार बनेको बताएका छन् ।

‘राजनीतिमा हावी हुँदै आएको सेनाले म्यान्मार (बर्मा) मा आजै स्टेट काउन्सिलर आङ सान सुकी, राष्ट्रपति विन मिन्टलगायत नेतालाई नियन्त्रणमा लिंदै संकटकाल लगाएछ । सुकीले सत्ता सम्हाल्दा पनि आफ्नो इशारामा हिंडाएको सेनालाई राजनीतिको लत लाग्दा के हुन्छ भन्ने उदाहरण म्यान्मार बनेको छ’, उनले भनेका छन् ।

गत नोभेम्बरको भएको चुनावमा धाँधली भएको आरोपमा सेनाले म्यानमारमा एक वर्षका लागि संकटकाल घोषणा गरेको हो ।