कमाण्ड सेनापति समन्वयात्मक बैठक : राष्ट्रिय स्वार्थमा आघात हुन नदिने सेनापतिको दावी


काठमाण्डु-  नेपाली सेनाको कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७९ को शुभारम्भ भएको छ । भाद्र ०९ गतेदेखि १० गतेसम्म जङ्गी अड्डामा सञ्चालन हुने दुई दिने ‘कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७९’ को बिहिवार प्रधानमन्त्री एवं रक्षामन्त्री शेर बहादुर देउवाले शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले देशको सुरक्षा र प्रतिरक्षाजस्तो महत्वपूर्ण र संवेदनशील जिम्मेवारी बोकेको नेपाली सेनाले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता तथा राष्ट्रिय एकतालाई बलियो बनाउन आफ्नो क्षेत्रबाट महत्वपूर्ण योगदान पु¥याउँदै आएको धारणा व्यक्त गरेका हुन् । साथै उनले नेतृत्व तहमा रहेका पदाधिकारीहरुको ईमान्दारी र कर्तव्यपरायणताबाट नै मातहतका फौजको हौसला र मनोवल उच्च हुनुका साथै समग्रमा नेपाली सेनाप्रति नेपाली जनताको विश्वास र भरोसा कायम राख्न निर्देशन दिए ।

कार्यक्रममा बोल्दै प्रधान सेनापति प्रभुराम शर्माले शान्तिको समयमा संचालन भएका विभिन्न तालिम एवं अभ्यासहरुले नै आपतकालिन परिस्थितीमा सहजतापूर्वक कार्य गर्न सकिने भएकोले नेपाली सेनाले आन्तरिक रुपमा तथा विदेशी सेनासँग सहकार्य गरी तालिम तथा अभ्यासहरु संचालन गर्दै आइरहेको जानकारी दिए ।

उनले नेपाली सेना मित्रराष्ट्रहरुसँगको सन्तुलित सम्बन्ध लगायत छिमेकी राष्ट्रहरुको सुरक्षा संवेदनशीलतालाई समेत मध्यनजर राखी राष्ट्रिय स्वार्थमा कुनैपनि किसिमको आघात हुन नदिने पक्षमा सजग र सतर्क रहँदै आएको बताए ।

प्रधानसेनापति शर्माले नेपाल सरकारको उच्चतम प्राथमिकतामा रहेको काठमाण्डौं–तराई÷मधेश द्रुतमार्ग सडक आयोजना लगायतका राष्ट्रिय गौरवका आयोजनाहरुमा सम्बन्धित निकायको समन्वयमा श्रोत र साधनको सुनिश्चितता गरी निर्धारित समय सीमाभित्र निर्माण सम्पन्न गर्न सेना कटिवद्ध रहेको जानकारी गराए ।

रक्षा सचिव, जङ्गी अड्डाका पि.एस.ओज. रथीबृन्द, चारवटै कमाण्डका कमाण्ड सेनापतिहरु लगायत विभिन्न विभाग, महानिर्देशनालय, कोर तथा निर्देशनालयका प्रमुखहरु तथा उपत्यका भित्र अवस्थित बाहिनी अड्डाका बाहिनीपतिहरुको उपस्थिती रहेको उक्त दुई दिवसीय समन्वयात्मक बैठकको दौरान नेपाली सेनाका विभाग, महानिर्देशनालय, कोर र निर्देशनालयका प्रमुखहरु तथा कमाण्ड सेनापतिहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वर्तमान वस्तुस्थिति, कार्य समिक्षा एवं सुझावहरु सहितको प्रस्तुतिकरण प्रस्तुत गर्ने कार्यक्रम छ ।

यस किसिमको समन्वयात्मक बैठक र आपसी अन्तरक्रिया पश्चात प्राप्त हुने राय सुझावहरुले आगामी दिनहरुमा नेपाली सेनाको महत्वपूर्ण नीति तथा योजना निर्माणमा ठोस योगदान पु¥याउने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement