अतिआवश्यक बाहेकका कामकाज बन्द गर्ने घोषणा गर्दै नार्कका कर्मचारीले थाले आन्दाेलन

अतिआवश्यक बाहेकका कामकाज बन्द गर्ने घोषणा गर्दै नार्कका कर्मचारीले थाले आन्दाेलन


काठमाण्डु– नेपाल कृषि अनुसन्धान परिषद (नार्क)मा कार्यरत बैज्ञानिक कर्मचारीहरुले निमित्त कार्यकारी निर्देशकको कार्यकक्षमा ताला लगाएका छन् ।

उनीहरुले निमित्त कार्यकारी निर्देशक बोजराज खनालको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

उनीहरुले परिषद अन्तर्गतका सबै कार्यालयहरुमा अतिआवश्यक बाहेकका कामकाज बन्द गर्ने घोषणा समेत गरेका छन् ।

पशुपक्षी तथा माछाको दानापानी, बालीनालीमा सिंचाइ, मलखाद र औषधि उपचार बाहेकका सबै कामकाज बन्द गर्ने उनीहरुको भनाइ छ ।

परिषद्का कर्मचारीहरूले प्राविधिक र प्रशासनिक समूहका कर्मचारीको समान तलबमान कायम गर्न दिएको अदालतको आदेश कार्यान्वयनमा आनाकानी गरेको भन्दै आन्दोलन थालेका हुन् । कर्मचारीहरूले समान तलबमानको माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।

उक्त रिटमा उच्च अदालत पाटनले समकक्षी प्राविधिक प्रशासनिक कर्मचारीसँगको समान आधारभूत मासिक तलबमानलाई असमान कार्य गर्नु विभेदकारी भएको ठहर गर्दै २०८१ साउन १ बाट लागू हुने गरी समान तलबमान कायम गर्न परमादेश जारी गरेको थियो । तर, नार्क व्यवस्थापनले अझैसम्म अदालतको आदेश कार्यान्वयनमा आनाकानी गरेकाले भदौ ५ गतेबाट चरणबद्ध आन्दोलनमा उत्रिनुपरेको कर्मचारीहरूले बताएका छन् ।

कर्मचारीहरूले विरोधका कार्यक्रमबाट अनुसन्धान तथा दैनिक प्रशासनिक कार्यमा पर्न जाने क्षति तथा असुविधाको सम्पूर्ण जिम्मेवार नार्क व्यवस्थापन नै हुने चेतावनी दिएका छन् ।