काठमाण्डु– अटोमोबाइलको महाकुम्भ नाडा अटो शो २०२६ सुरु भएको छ । मंगलबार उपराष्ट्रपति रामसाय प्रसाद यादवले काठमाण्डुको भृकुटीमण्डपमा नाडा अटो शोको उद्घाटन गरेका हुन् ।
आफ्नो स्थापनाको ५०औँ वर्ष पूरा गरेको स्वर्ण जयन्तीको अवसर पारेर आयोजना गरेको ‘एचपी ल्युब्रिकेन्ट्स प्रजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ भदौ १४ गतेसम्म सञ्चालन हुनेछ ।
कार्यक्रमको उद्घाटन गर्दै उपराष्ट्रपति यादवले अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानीसँग जोडिएको क्षेत्रका रूपमा उल्लेख गर्दै उद्योगको विकास, लगानीको सुरक्षा, रोजगारी सिर्जना र उपभोक्ताको हितबीच सन्तुलन कायम गर्नुपर्ने बताए ।
प्रदर्शनीमा २ सयभन्दा बढी स्टल रहनेछन्। २३ वटा चारपाङ्ग्रे यात्रुवाहक सवारीसाधनका ब्रान्ड, १७ वटा साना तथा मझौला व्यावसायिक सवारीसाधनका ब्रान्ड र १३ वटा दुईपाङ्ग्रे सवारीसाधनका ब्रान्डले प्रत्यक्ष सहभागिता जनाउँदैछन्।

यसपटकको अटो शोको मुख्य आकर्षणमध्ये नेपालमै उत्पादन भएको विद्युतीय स्कुटर ‘यात्री पी–२’ पनि रहेको छ ।
पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट्स, चार्जिङ पूर्वाधार तथा ग्यारेज उपकरणसम्बन्धी करिब ७० कम्पनीको सहभागिता रहनेछ। त्यसैगरी १० वटा बैंक, वित्तीय संस्था तथा बिमा कम्पनीको उपस्थितिले सवारी खरिददेखि वित्तीय व्यवस्थापन र बिमासम्मको सम्पूर्ण पक्षलाई प्रदर्शनीसँग जोड्नेछ।
अटो शोमा सर्वसाधारणका लागि प्रवेश शुल्क २०० रुपैयाँ र विद्यार्थीका लागि १५० रुपैयाँ तोकिएको छ । टिकट खल्ती एपमार्फत अनलाइन खरिद गर्न सकिनेछ । प्रदर्शनीस्थलमा पार्किङ, ट्राफिक व्यवस्थापन सूचना डेस्क, मिडिया डेस्क, क्याफेटेरिया तथा आकस्मिक स्वास्थ्य सेवासमेत उपलब्ध गराइएको नाडाले जनाएको छ ।







प्रतिक्रिया