आज नागपञ्चमीः यस्तो छ नागपञ्चमीको धार्मिक महत्व


काठमाडौ‌ – प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरेर मनाइँदैछ।

यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ।

सूर्योदयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका लागि शुभ मानिने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा।डा।रामचन्द्र गौतमले जानकारी दिए।

नाग पूजाको प्रचलन वैदिक कालदेखि नै शुरु भएको हो। वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा बसेको हो।

वराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ। प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिंदै आइएको हो।

नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवानलाई नागका रुपमा मान्ने गरिएको हो।

प्रथम पूजाको अधिकार पाउनुभएका भगवान् गणेशको एक हातमा नाग छ । भगवान् विष्णुको अवतारका रुपमा जन्म लिनुभएका श्रीरामचन्द्रका भाइ लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतारका रुपमा मानिन्छ।

श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसङ्ग विभिन्न पुराणमा वर्णन गरिएको छ । विष्णुको नवौंँ अवतारका रुपमा जन्म लिनुभएका बुद्धको मूर्तिको शिरमा मुकुटाकारका रुपमा सर्पको आकृति रहेको हुन्छ । मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला लगाइएको हुन्छ । जैन तीर्थङ्करहरुको शिरमा समेत सर्पाकार मुकुट हुन्छ।

पाण्डुपुत्र अर्जुन र चन्द्रगुप्त द्वितीयले नागकन्यासँग विवाह गरेको प्रसङ्ग धर्मशास्त्रमा उल्लेख गरिएको छ । लक्ष्मीको वास त्यो घरमा हुन्छ जुन घरमा नागको पूजा हुन्छ भन्ने मान्यता हाम्रो समाजमा सनातनदेखि छ।

संसारमा सबैभन्दा मूल्यवान् रहेको मणिलाई नागले नै शिरमा धारण गरेका हुन्छन् । श्रीखण्डको सुगन्ध र सङ्गीत नागलाई खुब मन पर्छ । गर्मीमा दुलोभित्र बस्ने नाग श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन वर्षात्को शीतलताका कारण बाहिर निस्कने मान्यता समेत छ।

नागका बाह्र नाम भए पनि आठ कूलका आठ नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कोकट र शङ्ख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ।

आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्पलगायत घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ। रासस

प्रतिक्रिया दिनुहोस
Advertisement