नाइमा मोबिलिटी एक्स्पोमा २ दिनमै ५५ हजारभन्दा बढी अवलोकनकर्ता

नाइमा मोबिलिटी एक्स्पोमा २ दिनमै ५५ हजारभन्दा बढी अवलोकनकर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राजधानी काठमाण्डुको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’मा अवलोकनकर्ताको उल्लेख्य सहभागिता देखिएको छ ।

एक्स्पोको २ दिनमै ५५ हजारभन्दा बढीले अवलोकन गरेका छन् ।

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा भइरहेको एक्स्पोको दोस्रो दिन मात्रै २६ हजारभन्दा बढी अवलोकनकर्ता मेलास्थल पुगेका थिए । उद्घाटनको दिन २९ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका थिए । आयोजकले एक्स्पो अवधिभर करिब डेढ लाखले अवलोकन गर्ने अपेक्षा गरेको छ ।

एक्स्पोमा अवलोकनकर्ताले आफूलाई मन परेका विभिन्न ब्रान्डका कार तथा मोटरसाइकलको अवलोकनसँगै बुकिङसमेत गरिरहेका छन् । महँगा तथा सस्ता दुवै मूल्य समूहका सवारीसाधनप्रति अवलोकनकर्ताको समान रुचि देखिएको आयोजकले जनाएको छ ।

अवलोकनकर्ताले विशेषगरी विद्युतीय सवारीसाधनको ब्याट्री क्षमता, मोटर, एकपटकको चार्जमा तय गर्न सक्ने दूरी, बिक्रीपछिको सेवा लगायतका विषयमा चासो राखेका छन् । ग्राहक आकर्षित गर्न सहभागी कम्पनीहरूले मूल्य छुट, १ वर्षको बिमा तथा सवारी कर, नि:शुल्क सर्भिसिङ र सहुलियत ब्याजदरमा कर्जालगायत सुविधा उपलब्ध गराएका छन् ।

एक्स्पोमा सहभागी विभिन्न कम्पनीले दोस्रो दिन ४ नयाँ मोडल सार्वजनिक गरेका छन् । यसअघि उद्घाटनको दिन विभिन्न ब्रान्डले ४८ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका थिए ।

एक्स्पोको दोस्रो दिन ‘गतिशीलता : हिजो, आज र भोलि’ विषयमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम समेत आयोजना गरिएको थियो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल, काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्ले, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौला, पूर्वाधार विकास मन्त्रालयका विज्ञ सल्लाहकार एवं ट्राफिक तथा यातायात इन्जिनियर अनुकूल निधि तथा नाडा अटोमोबाइल एसोसिएसनका पूर्वअध्यक्ष ध्रुवबहादुर थापाले धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार टिकाराम यात्रीले गरेका थिए ।

छलफलमा ३०० भन्दा बढीको सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ । एक्स्पोको पहिलो दिन ‘लगानी तथा प्रत्यक्ष वैदेशिक लगानी : आर्थिक वृद्धिको ऊर्जाका रूपमा परिचालन’ विषयमा छलफल भएको थियो ।

नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पो ६ दिनसम्म सञ्चालन हुनेछ । एक्स्पो साउन ३१ गतेसम्म चल्नेछ ।

एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको सहभागिता रहेको छ । नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि नयाँ विद्युतीय कार, विद्युतीय स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधनसम्म एक्स्पोका मुख्य आकर्षण बनेका छन् ।

सवारीसाधन खरिदका लागि बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूले समेत विभिन्न विशेष योजना तथा सहुलियत कर्जा उपलब्ध गराइरहेका छन् ।

एक्स्पोको सहप्रायोजकमा ग्लोबल आइएमई बैंक, मुख्य प्रायोजक सहयोगीका रूपमा रेडबुल तथा बैंकिङ साझेदारमा एनएमबी बैंक र सिद्धार्थ बैंक रहेका छन् । बिमा साझेदारमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स रहेका छन् ।

प्रविधि, शिक्षा, चार्जिङ, यातायात, आतिथ्य, स्वास्थ्य, सुरक्षा, टिकटिङ, डिजिटल सेवा तथा सञ्चारलगायत विभिन्न क्षेत्रमा विभिन्न संस्थाहरू साझेदारका रूपमा सहभागी छन् ।