सुन प्रकरणको रहस्य गहिरिँदैः थप एक केजी सुन प्रहरीको कोठामा भेटियो


काठमाण्डु – काठमाण्डुको कमलादी सुन प्रकरणमा एकपछि अर्को गर्दै रहस्यहरु खुल्दै गएका छन् । साढे १४ किलो चाँदी र आधा किलो सुन प्रकरणको अनुसन्धानका क्रममा एकाएक प्रहरीले प्रहरीकै कोठाबाट थप एक किलो सुन बरामद गरेपछि यो प्रकरण थप रहस्यमयी बन्दै गएको हो ।

दरबारमार्ग प्रहरीका तत्कालीन डीएसपी रञ्जन दाहाललाई गलत सूचना दिएको अभियोग लागेका सादा पोशाकका प्रहरी जवान प्रसन्न श्रेष्ठको कोठामा छापा हान्दा सुन जस्तो देखिने धातु बरामद भएको प्रहरी श्रोतले जानकारी दियो । प्रहरीले बरामद गरेको उक्त सुन सक्कली वा नक्कली भएको भन्ने खुलिसकेको छैन ।

छानविन समितिले प्रहरी जवान बहादुर सिंह कडायत र प्रसन्न श्रेष्ठलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । मंगलवार प्रहरीले बरामद गरेको १५ किलो पहेलो धातुको बारेमा कडायतले नै जानकारी दिएका थिए । त्यसपछि डीएसपी रञ्जन दाहालको नेतृत्वमा टोली खटाइएको थियो । स्कर्पियोमा रहेका तस्करले फ्याँकेको भनिए पनि कडायतले सुनको झोला बुझेको जानकारी प्रहरीले पाएको छ ।

मंगलवार बिहान करिब ९ बजेतिर जाँच गर्ने क्रममा कमलादीबाट बा ६ च ५५१९ नम्बरको सिल्भर कलरको स्कर्पियो गाडी कृष्ण पाउरोटीबाट आएको थियो । चेकिङमा रहेको प्रहरी देखेपछि नरोकी हुइँकिएको प्रहरीले जनाएको थियो । रोक्न खोज्दा भागेपछि प्रहरीले उक्त गाडीलाई फलो गरेको र त्यही क्रममा गाडीमा रहेका व्यक्तिले सेतो रंगको झोला गाडीबाट बाहिर हुत्त्याएको प्रहरीले जनाएको थियो। उक्त झोलामा चाँदी, सुन र दुई थान पेस्तोल भेटिएको थियो ।

यसै घटनामा प्रहरीले पूर्वी नवलपरासीबाट निलेश सखिया, देवान पटेल र विजय पटेललाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement