काठमाण्डु – पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई नेकपा माओवादी केन्द्रको पहिलो वरियताको उपाध्यक्ष बनाउन औपचारिक प्रस्ताव भएको छ ।
सोमबारको पदाधिकारी बैठकमा पार्टी उपमहासचिव वर्षमान पुनले पासाङलाई पार्टी केन्द्रीय उपाध्यक्ष बनाउन प्रस्ताव गरेका हुन् ।
उपमहासचिव पुनको प्रस्तावमा समर्थन जनाउँदै अर्का उपमहासचिव जनार्दन शर्माले उपराष्ट्रपति भइसकेका पासाङलाई उपाध्यक्ष मात्रै नभई १ नम्बरकै उपाध्यक्ष बनाउनुपर्ने राय दिँदै समर्थन जनाएका उच्च स्रोतले काठमाण्डुपाटीलाई जानकारी दिए ।
‘पासाङलाई १ नम्बरकै उपाध्यक्ष बनाउन छलफल चलेपछि हाल १ नम्बरका उपाध्यक्ष रहेका कमरेड नारायणकाजी श्रेष्ठले विरोध जनाउनुभयो,’ स्रोतले भन्यो, ‘कमरेड श्रेष्ठको विरोधपछि उपाध्यक्ष बनाउनेबारे निर्णय हुन सकेन । त्यसपछि उहाँलाई पद विना नै उत्पादन संयन्त्रको प्रमुख बनाउने निर्णय भयो ।’
पूर्वउपराष्ट्रपति पासाङले उपाध्यक्ष पदसहित पार्टीमा सक्रिय हुन चाहेका छन् । उनलाई माओवादीमा भित्र्याएर १ नम्बर उपाध्यक्ष बनाउँदा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको वरियता तेस्रो नम्बरमा खस्किनेछ । हाल अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पछिको वरियतामा श्रेष्ठ छन् ।
केही दिनअघि तत्कालीन जनमुक्ति सेनाका पूर्वकमाण्डरसँगको छलफलमा पूर्वउपराष्ट्रपति पासाङले आफूलाई पार्टीमा रोक्ने प्रयास भएको भन्दै असन्तुष्टि जनाएका थिए ।
प्रतिक्रिया