उपराष्ट्रपति पुनलाई बंगलादेश भ्रमणको निम्तो


काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले शिष्टाचार भेट गरेका छन् । नेपालको राजकीय भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति हमिदसँग उपराष्ट्रपति पुनले बुधबार दिउँसो शिष्टाचार भेट गरेका हुन् ।

नागपोखरीस्थित होटेल मेरियटमा करिब आधा घण्टा भएको भेटमा दुईपक्षीय आपसी सम्बन्ध, सहयोग र सहकार्यका विविध आयममा छलफल भएका छन् ।

भेटमा बंगलादेशका राष्ट्रपति हमिदले नेपालको भ्रमण गर्न पाउँदा अत्यन्त हर्षित रहेको बताए । सन् २०७१ मा बंगलादेश स्वतन्त्र भएपछि बंगलादेशलाई राष्ट्रको मान्यता दिने नेपाल सातौँ राष्ट्र भएको स्मरण गर्दै उनले नेपाललाई धन्यवाद दिए ।

दुई देशबीचको सम्बन्ध अत्यन्त प्रगाढ रहेको बताउँँदै राष्ट्रपति हमिदले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नेपालको राष्ट्रिय आकांक्षामा बंगलादेशको सधै साथ, सहयोग र सहकार्य हुने बताए । उनले बंगलादेश र नेपाल सधै साथ साथमै रहेको बताए ।

राष्ट्रपति हमिदले नेपालको जलविद्युत क्षेत्रबाट बंगलादेशले पनि लाभ लिन खोजिरहेको बताए । उनले नेपालका थुप्रै विद्यार्थीहरुले बंगलादेशम मेडिकल शिक्षा अध्ययन गरिरहेको बताउँदै बंगलादेशले छात्रावृत्ति प्रदान गर्दै आइरहेको स्मरण गरे ।

राष्ट्रपति हमिदले उपराष्ट्रपति पुनलाई बंगलादेश भ्रमणको लागि निमन्त्रणा समेत गरे । उनले बंगलादेशले नेपालसँग रेलवे, सडक, हवाई र जलमार्गमार्फत सञ्जाल विस्तार गर्न चाहिरहेको बताए ।

बंगलादेशका राष्ट्रपति हमिदसँगको भेटमा उपराष्ट्रपति पुनले सन् २०७२ मा कायम भएको दुई देशबीचको दौत्य सम्बन्ध अहिले प्रगाढ भएको र जनस्तरसम्म फैलिएको बताए । उनले निकटमित्र राष्ट्रहरुको रुपमा आगामी दिनमा दुई देशबीचको सहयोग अझै सुदृढ् गर्दै जानुपर्ने बताए ।

राष्ट्रपति हमिदको भ्रमणले दुई देशबीचको सम्बन्ध अझै प्रगाढ हुने अपेक्षा गर्दै उपराष्ट्रपति पुनले सन् १९७१ मा बंगलादेशलाई राष्ट्रको मान्यता दिने नेपाल सातौँ राष्ट्र भएको स्मरण गरे ।

उपराष्ट्रपति पुनले बंगलादेशले हासिल गरेको आर्थिक वृद्धि र विकासप्रति खुशी व्यक्त गरे । उनले राष्ट्रपति हमिदले बंगलादेशको स्वतन्त्रताका लागि गरेको महान् संघर्षको स्मरण गर्दै तत्पश्चातको सक्रिया राजनीतिक भूमिकाको प्रशंसा गरे ।

उपराष्ट्रपति पुनले भौगोलिक रुपमा निकट रहेका दुई मुलुक संस्कृति, परम्परा तथा मूल्यहरुमा समेत समानता रहेको बताए ।

उपराष्ट्रपति पुनले नेपालले राजनीतिक स्थायित्व हासिल गरेर विकास र समृद्धिका लागि आफ्नो प्रयास जारी राखेको बताए । उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षाका साथ नेपाल अघि बढिरहेको बताए ।

उनले नेपालको उर्जा क्षेत्र समृद्धिको आधार भएको र यसबाट बंगलादेश पनि लाभाम्वित हुन सक्ने बताए । नेपाल र बंगलादेश सडक, रेल, हवाई तथा जलमार्गबाट जोडिन आवश्यक रहेको उल्लेख गर्नुहुँदै उपराष्ट्रपति पुनले गंगा नदिमार्फत नेपालका कोशी र गण्डकीलाई बंगलादेशको जमुना÷पद्या नदिहरुसँग जलमार्ग विकासमार्फत जोड्न सकिने बताए । उनले सिंहावाद–रोहनपुर रेलमार्ग तथा सइदपुर–विराटनगर÷भद्रपुर हवाई मार्गको सञ्जाल बनाउन सकिने बताए ।

उपराष्ट्रपतिले बंगलादेश र नेपाल आकर्षक पर्यटकीय गन्तव्य भएको उल्लेख गर्दै दुवै मुलुकहरुको लाभका लागि संयुक्त प्याकेज तथा प्रचर कार्यक्रम गर्नुपर्नेमा जोड दिए । उनले नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउन लागिरहेकोले बंगलादेशबाट धेरै पर्यटक आउने अपेक्षा व्यक्त गरे ।

उपराष्ट्रपति पुनले नेपाल र बंगलादेशबीच क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरका धेरै मुद्दाहरुमा समान दृष्टिकोण रहेको उल्लेख गर्दै सार्क, विम्स्टेक, संयुक्त राष्ट्र संघ, असंलग्न आन्दोलन लगायतका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा एक आपसी सहयोगलाई निरन्तरता दिनुपर्ने बताए ।

बंगलादेशको राष्ट्रपतिले गरेको भ्रमणको निमन्त्रणालाई स्वीकार गर्दै उपराष्ट्रपति पुनले उपर्युक्त समयमा भ्रमण गर्ने बताए ।  भेटमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement