काठमाण्डु – नेकपा (माओवादी केन्द्र)ले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई तत्काल उपाध्यक्ष नबनाउने भएको छ । माओवादीको २३ पुसमा सम्पन्न केन्द्रीय समिति बैठक र ८ माघमा बसेको पदाधिकारी बैठकमा अधिकांश नेताहरूले पूर्वउपराष्ट्रपति पुनलाई माओवादीमा फर्काउने तयारीको चर्को विरोध गरेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालले तत्काल उनलाई पार्टी उपाध्यक्षको जिम्मेवारी नदिने भएका हुन् ।
अध्यक्ष दाहालले केन्द्रीय समिति बैठकको समापनका क्रममा पुनलाई पार्टीको जिम्मेवारीमा फर्काउने र के जिम्मेवारी दिने भन्ने आन्तरिक परिपत्रमार्फत खुलाउने बताएका थिए ।
तर, केन्द्रीय समिति बैठक र पदाधिकारी बैठकमा पुनलाई जिम्मेवारी दिनुपर्छ भन्नेभन्दा दिन हुन्न भन्नेमा धेरै नेताहरूले जोड दिएपछि दाहालले आफ्ना विश्वाशपात्र पुनलाई तत्काल पार्टीमा भित्र्याउने योजना स्थगित गरेका उनको सचिवालय निकट स्रोतले जानकारी दियो ।
नेताहरूको चर्को विरोधपछि आफ्नो निवास खुमलटारमा ८ माघमा बसेको पदाधिकारी बैठकबाट पुनलाई पार्टीमा जिम्मेवारी दिने निर्णय नगराएका हुन् । माओवादीका एक पदाधिकारीले पदाधिकारी बैठकमा पुनलाई जिम्मेवारी दिने निर्णय नभएको जानकारी दिए ।
अध्यक्ष दाहालले पार्टीमा बेला बेलामा आफ्नो विरोध गर्ने उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुन तथा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई साइजमा राख्न विश्वासपात्र पुनलाई उपाध्यक्ष बनाएर राजनीतिमा फर्काउन चाहेका थिए । उनको योजना सफल हुन नदिन नेताहरूले राज्यको सम्मानित पदमा पुगेको व्यक्ति पार्टीको सक्रिय राजनीतिमा फर्किँदा गलत सन्देश जाने बैठकमा बताएका थिए ।
जिम्मेवारी दिने योजना अनुरुप दाहालले पुनलाई २६ गते खुमलटारमा बसेको माओवादीको पदाधिकारी बैठकदेखि निरन्तर माओवादी बैठकमा सहभागी बनाउँदै आएका छन् । उनलाई माओवादी बैठकहरूमा उपाध्यक्ष बस्ने ‘रो’मा बसाउने गरिएको थियो ।
पुन दुई कार्यकाल माओवादीको उम्मेदवार भएर उपराष्ट्रपति बनेका थिए । उनी २०७२ सालदेखि २०७९ सालसम्म उपराष्ट्रपति भएका थिए । त्यसअघि माओवादीको जनयुद्ध कालदेखि दाहालका विश्वासपात्र रहेका पुनलाई पुन पार्टीमा भित्र्याएर आफूलाई पदबाट हटाउन खोज्ने नेताहरूको विरुद्धमा प्रयोग गर्ने दाहालको योजना थियो ।
पछिल्लो पटकको केन्द्रीय समिति बैठकमा पुनलाई माओवादीमा जिम्मेवारी दिएर फर्काउन नहुने विषयमा सुदन किराँती, लेखनाथ न्यौपाने, लक्ष्मण पन्त, ईन्द्र आङ्दाम्बो, जगप्रसाद शर्मा, अशोक जैशवाल, कुमारी राई, गोविन्द रोका, हरि ज्ञवाली, सुरेश राई, वम्बु शेर्पाले धारणा राखेका थिए । नेताहरूले पुनलाई राज्यको सम्मानित पदमा पुगेका व्यक्ति पार्टी राजनीतिमा होइन सामाजिक व्यक्तित्व भएर बस्न सुझाव दिएका थिए ।
प्रतिक्रिया