काठमाण्डु – नेकपा एमालेका सांसद नारदमुनी रानाले संसदीय समितिको आजको अडियो रेकर्ड माग गरेका छन् । आइतबार बिहान ११ बजे प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा एमालेकै वरिष्ठ नेता माधव नेपालले रानामाथि अभद्र व्यवहार गरेका थिए ।
सांसद रानालाई नेता नेपालले बैठकमा प्रतिगमनको मतियार राजीनामा दिएर बाहिर निस्कनुस् भन्दै थर्काएका थिए । रानाले संसद सचिवालयका महासचिवलाई पत्र लेख्दै आजको बैठकको श्रव्यदृष्य आवश्यक परेको हुँदा उपलब्ध गराउन आग्रह गरेका हुन् । उनले संसदीय समितिमा माधव नेपाल र आफ्नो हैसियत समान रहेको बताए । संसदीय समिति बैठकको सबै रेकर्ड सुनेर कारवाही होस् भनि आफूले अडियो मगाएको उनको भनाइ छ ।
बैठकमा भएको के थियो ?
आइतबार बिहान ११ बजे प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बोलाइएको थियो । यो दोस्रो पटक प्रतिनिधि सभा पुनर्स्थापना भएपछि समितिको पहिलो बैठक थियो । बैठक यसअघि समितिले सरकारलाई दिएको निर्देशन कसरी कार्यान्वयन गराउने र अगामी बैठकका एजेन्डा तय गर्ने विषयमा केन्द्रित थियो ।
छलफलका क्रममा काँग्रेस, माओवादी केन्द्र र नेपाल पक्ष एमालेकै सांसदहरूले एमालेका वरिष्ठ नेता माधव नेपालको भूमिकाबाट प्रतिनिधि सभा पुनर्स्थापना भएको भन्दै प्रशंसा गरेका थिए । माओवादी केन्द्रका सांसद सुदन किराँती, काँग्रेस सांसद दिव्यमणि राजभण्डारी, एमालेकै सांसद मोहन बानियाँ, एमालेकै सांसद पुष्पा कुमारी कर्णले नेता नेपालका कारण प्रतिनिधि सभा, संसदीय समिति सबै पुनःजिवित भएको भन्दै प्रतिनिधि सभा र संसदीय समितिलाई प्रभावकारी बनाएर लैजानुपर्नेमा जोड दिए ।
बैठकको आधा समय सकिएपछि सांसद राना बैठकमा पुगेका थिए । बैठकमा एमालेकै सांसद कर्णले संसद् जोगाउनका लागि आफ्नो पार्टीका २२ सांसदका लागि बाध्यकारी अवस्था रहेको र संसद् जोगाउन सफल भएको बताइन् । उनले संसद् पुनः स्थापनाका कारण अहिले संसदमा उपस्थित हुने अवस्था आएको भन्दै खुसी भइन् ।
कर्णपछि बोल्ने पालो पाएका सांसद रानाले कर्णको भनाइप्रति आपत्ति जनाउँदै अहिलेको संसद् र सरकार सर्वोच्च अदालतको परमादेशले बनाएको टिप्पणी गरे । सांसद राना केपी ओली नेतृत्वको सरकारमा केही दिन वनमन्त्री समेत भएका थिए ।
उनले संसद् र सरकार परमादेशबाट बनेको भन्दै जनमतको कुरा नगर्न चेतावनी दिएपछि एमाले वरिष्ठ नेता नेपाल आक्रोशित भए । आफुमाथि निरन्तर सांसद राना खनिएपछि उनले ‘तपाईँ प्रतिगमनको मतियार बन्ने’ भन्दै आक्रोश व्यक्त गरे । नेपालले आक्रोशित हुँदै चोर औँला ठड्याउँदै नारदमुनिलाई प्रतिगमनको मतियार बन्ने भए सांसदबाट राजीनामा दिएर बैठक कक्षबाट बाहिर जान आग्रह गरे ।
‘तपाई प्रतिगमनको मतियार बन्ने ? प्रतिगमनको मतियार भएर बोल्न पाइँदैन । तपाईँ राजीनामा दिनुस्, बाहिर निस्कनुस्,’ नेता नेपालले आक्रोशित हुँदै रानालाई भने ।
समिति सभापति पवित्रा निरौला खरेलले सांसद रानालाई विषय प्रवेश गरेर बोल्न आग्रह गरिन् । तर सांसद राना, काँग्रेस, एमाले र माओवादी केन्द्रका सांसद रोकिएनन् । एकछिन् बैठकमा चर्काचर्की नै भयो । काँग्रेस सांसद दिव्यमणि राजभण्डारीले बैठकको सुरुमै आफूले अघिल्लो सरकारमा सहभागी पूर्व मन्त्रीलाई समितिमा बस्ने व्यवस्था नभएकोले बैठकमा सहभागी नगराउन आग्रह गरेको कुरा मान्न अनुरोध गरे । प्रतिवाद गर्दै उनले अहिलेको सरकार १ सय ६५ जना जनप्रतिनिधिको जनमतबाट बनेकाले यो सरकार परमादेशबाट नभई जनमतबाट बनेको उल्लेख गरे ।
एमालेकै सांसद दीपक प्रकाश भट्टले आक्रोशित हुँदै सांसद रानालाई समितिमा बस्ने कुनै अधिकार नभएको भन्दै बाहिर जान आग्रह गरे । एमाले सांसद राना पनि के कम ? मलाई बाहिर जाऊ भन्ने तपाई को हो ? बैठकमा आउन मलाई किन खबर गरेको त ? भन्दै प्रश्न गरिरहे ।
काँग्रेस, माओवादी केन्द्र र एमाले नेपाल समूहका सांसदहरूले एकजुट भएर उनीविरुद्ध खनिएपछि उनले आफ्नो भनाई टुङ्ग्याएका थिए ।
प्रतिक्रिया