उपप्रधानमन्त्री श्रेष्ठको पहिलो एक्सन: छड्के हान्न एकाबिहानै यातायात कार्यालय पुगे


काठमाण्डु- उपप्रधानमन्त्रीको वरीयतामा असन्तुष्टि जनाएका उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ आइतबारदेखि नियमित मन्त्रालय जान थालेका छन् ।

आफूभन्दा वरीयतामा एमालेका विष्णु पौडेललाई राखिएको भन्दै श्रेष्ठले सार्वजनिक रूपमै असन्तुष्टि जनाएर केही दिन मन्त्रालय नगई बसे । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको दोस्रो वरीयतामा एमाले उपाध्यक्षसमेत रहेका पौडेललाई राखिएपछि श्रेष्ठले असन्तुष्टि जनाएका थिए ।

उनले पौडेलभन्दा आफू पहिले नै उपप्रधानमन्त्री भएको भन्दै आफूलाई दोस्रो वरीयतामा राख्न पार्टी नेतृत्वलाई दबाब दिएका थिए । तर, प्रधानमन्त्री प्रचण्डले थामथुम पारेपछि घुर्की लगाएर घरबाटै मन्त्रालय चलाउँदै आएका श्रेष्ठ आइतबारदेखि सिंहदरबारस्थित मन्त्रालय जान लागे ।

यसैबीच मन्त्री श्रेष्ठ मंगलबार फरक सैलीमा देखिए । उनी मंगलबार एकान्तकुनाको यातायात कार्यालयमा छड्के चेकिङमा पुगे । कार्यलय गएको तेस्रो दिन उनी एकान्तकुनाको यातायात कार्यालयमा छड्के चेकिङमा पुगेका हुन् ।

मंगलवार बिहान कार्यालय खुल्नेबित्तिकै एकान्तकुना पुगेका मन्त्री श्रेष्ठले त्यहाँ भइरहेको सेवा प्रवाह, सेवाग्राहीको गुनासो आदि विषयमा जानकारी लिएर त्यहाँबाट फर्किए ।

मन्त्री श्रेष्ठ आइतबारदेखि नियमित कार्यालय फर्किनुका साथै एक्सनमा पनि उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement