नारायणकाजीले प्रचण्डलाई भने–नेतृत्व दिनुस्, सम्हाल्छौं

नारायणकाजीले प्रचण्डलाई भने–नेतृत्व दिनुस्, सम्हाल्छौं


काठमाण्डु-माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायाणकाजी श्रेष्ठले पार्टीको नेतृत्व गर्ने जिम्मेवारी दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नरबहादुर कर्मचार्यको स्मृति सभामा श्रेष्ठले ३५ वर्ष पार्टीको नेतृत्व गरिसकेका प्रचण्डले अब ‘तपाईंहरूले चलाउनुस्’ भनेर भन्नु पर्ने बताए । ‘पार्टी नेतृत्वको जिम्मेवारी दिए हामी तयार रहनुपर्छ’,उनको भनाइ छ ।

‘अध्यक्ष कमरेडले ३५ वर्ष मैले पार्टीको अध्यक्षता गरेँ, मैले मात्रै कति जिम्मेवारी लिने भनेर हामीमध्ये कोहीलाई तपाईंहरू अब चलाउनुस् भनेर कुनै दिन भनेको स्थितिमा हामी चलाउन तयार हुनुपर्छ,’ श्रेष्ठले भने, ‘अहिलेको अवस्थामा रुपान्तरणको प्रक्रियाको नेतृत्व पनि पार्टी अध्यक्षले नै गरेर अघि बढ्नु र हामी सबैले साथ दिने अहिलेको आवश्यकता हो ।’

माओवादी केन्द्रका लागि सरकारमा रहनु र सरकारबाट बाहिरिनुले कुनै असर नगर्ने भए पनि अहिलेको कार्यदिशा कार्यान्वयनको निम्ति सरकारको भूमिका महत्वपूर्ण रहने उनले बताए । सरकारबाट बाहिर आएको अवस्थामा प्रतिक्रियात्मक, आक्रोशपूर्ण ढंगले प्रस्तुत हुन नहुने श्रेष्ठले बताए ।

पार्टीको नेतृत्वको सरकारलाई गिराउन विभिन्न ढंगले सधैँ प्रयत्न हुँदै आएको श्रेष्ठको दाबी छ । अहिले बनेको सरकारले राष्ट्रियताको रक्षा नगर्ने, उपलब्धिको रक्षा नगर्ने र सुशासन स्थापित गर्न नसक्ने उनले दाबी गरे । वर्तमान सरकारले प्रतिगमनतिर लैजाने खतरा रहेको भन्दै सरकार भ्रष्टचारीको रक्षा गर्ने, थप भ्रष्टाचारीको आधार तयार पार्ने दिशातिर जाने उनको आशंका छ ।

श्रेष्ठले देश प्रतिगमनतिर जान सक्ने खतरालाई रोक्दै अहिलेसम्म प्राप्त उपलब्धिहरूको रक्षा गर्ने जिम्मेवारी माओवादीको काँधमा आएको पनि बताए ।

राष्ट्रिय स्वाधीनता र हितको रक्षा गर्न सकेमात्र संस्थापक नेताहरूको सपना साकार हुने श्रेष्ठको भनाइ थियो ।

उनले समाजवादी क्रान्ति सम्पन्न गर्ने मुख्य कार्यभारबारे छलफल गरेर त्यसलाई व्यवहारमा लागु गर्ने सङ्कल्प लिएर अघि बढ्नु आजको मुख्य आवश्यकता भएको बताए ।