काठमाण्डु- माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्रपति र उपराष्ट्रपति भइसकेका व्यक्ति राजनीतिमा सक्रिय हुनु गम्भीर विषय भएको बताएका छन् ।
ताप्लेजुङमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले राष्ट्रपति र उपराष्ट्रपति भएर देशको सेवा गरिसकेका व्यक्ति पुनः सक्रिय राजनीतिमा आउनु गम्भीर विषय भएको र यसमा आवश्यक छलफल गर्नु पर्ने बताएका हुन् ।
पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई पार्टीले अहिलेसम्म पूर्ण जिम्मेवारी नदिएको दाबी उनले गरे । पुन अहिले पनि पार्टीमा आमन्त्रित सदस्यका रूपमा मात्र रहेको र उनको राजनीतिक भविष्यबारे पार्टीले निष्कर्षमा पुग्न बाँकी रहेको श्रेष्ठको दाबी छ ।
उपाध्यक्ष श्रेष्ठले केपी शर्मा ओली नेतृत्वको सरकारलाई भ्रष्टाचारको संरक्षण र छलछामको पर्याय भएको आरोप लगाए । ‘भ्रष्टाचार अनुसन्धानको डरले नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार ढालिएको हो’, उनले भने ।
सरकारले अध्यादेशमार्फत् देश चलाउन खोज्दा तानाशाही प्रवृत्ति देखिएको उनको भनाइ छ । दुई दलीय तानाशाही व्यवस्था लागू गर्ने प्रयास भइरहेको बताउँदै श्रेष्ठले माओवादीले यसलाई रोक्ने बताए । उनले सरकारले जनताका आधारभूत आवश्यकता पूरा गर्न नसकेको र निरंकुशता बढाएको बताए ।
माओवादी केन्द्र अहिले सरकार बनाउने वा गिराउने भन्दा पनि संगठनलाई बलियो बनाएर आर्थिक–सामाजिक रूपान्तरणको नेतृत्व गर्ने दिशामा ध्यान केन्द्रित गरेको श्रेष्ठले उल्लेख गरे । उनले पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष कार्यकारी र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकारसँग कुरा भइरहेको उनको भनाइ छ ।
प्रतिक्रिया