गृहमन्त्री श्रेष्ठको ‘अवसरवादी’ चरित्र : पहिला एमसीसीको खरो विरोधी,मन्त्री भएपछि चुपचाप !


काठमाण्डु – अमेरिकी सहयोगको एमसीसी सम्झौताका सम्बन्धमा नेपालमा धेरै विवाद र बहस भयो । अन्ततः संसद्बाट व्याख्यात्मक घोषणासहित पारित भएको १८ महिनापछि एमसीसी परियोजना बुधबारदेखि कार्यान्वयन प्रारम्भ भएको छ ।

एमसीसी सम्झौता २०७८ फागुनमा प्रतिनिधि सभाबाट अनुमोदन भएको थियो । पारित सम्झौतासँगै संलग्न ब्याख्यात्मक घोषणालाई अमेरिकाले स्वीकार गर्‍यो कि गरेन भन्नेमा फेरि विवाद उत्पन्न भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले व्याख्यात्मक घोषणाबारे अमेरिकालाई अब सोध्ने अभिव्यक्ति दिएर अन्योल बढाइदिएका छन् । संसद्बाट व्याख्यात्मक घोषणा भएको १८ महिनासम्म अमेरिकाको धारणा थाहा नहुँदै एमसीसी कार्यान्वयन भएको छ ।

एमसीसी सम्झौता बहसमा रहेका बेला खरो विरोधीभित्र पर्ने नेता हुन् नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ । उनी हाल प्रचण्ड सरकारमा उपप्रधान तथा गृहमन्त्री छन् । पहिला एमसीसीको खरो विरोध गर्ने श्रेष्ठ अहिले एमसीसी कार्यान्वयन हुँदा समेत चुपचाप छन् ।

२०७८ फागुनमा माओवादी केन्द्रनिकट भातृ संगठनले एमसीसीविरुद्ध सडक प्रदर्शन गर्दा उनी सडकमै उत्रिएका थिए । एमसीसीलाई व्याख्यात्मक घोषणासहित पारित गर्ने सत्तारुढ गठबन्धनको निर्णयमा पनि श्रेष्ठले सार्वजनिक रूपमै विमति राखेका थिए । उनले त्यतिबेला सामाजिक सञ्जालमा लेखेका थिए, ‘यो निर्णयप्रति मेरो गम्भीर असहमति र आपत्ति रहेको छ । आज बिहानको पार्टीको छलफलमा म लगायत केही कमरेडहरूले मतभेद राखिसकेका छौं ।’

एमसीसी बहसमै रहेका बेला पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा पनि श्रेष्ठले आफू एमसीसीविरुद्ध रहेको बताएका थिए । एमसीसी पास गर्न सरकारसँग बहुमत रहेको सन्दर्भमा सोधिएको प्रश्नमा उनले भनेका थिए, ‘बहुमत त हामी भएर न छ, हामी त एमसीसीको पक्षमा मतदान त गर्दैनौं, हामी एमसीसीको विरुद्धमा छौं । १००० प्रतिशत लेख्नुस्, यो एमसीसी सम्झौताको पक्षमा हामी जाँदैनौं, यसको विपक्षमा मतदान गर्छाैं । मैले बोलेको कुरामा कहिल्यै कुनै परिस्थिति यथावत रहेको अवस्थामा केही कुरा फेरबदल गरेको छु ? अहिलेको सन्दर्भमा एमसीसी सम्झौताको पक्षमा हाम्रो पार्टी जाँदैन, एक जाँदैन, दुई जाँदैन, तीन जाँदैन ।’

सरकारबाहिर हुँदा एमसीसीको खरो विरोधी रहेका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ सरकारमा गएपछि चुपचाप छन् । एमसीसी पारित गर्दा नै विरोधमा उत्रिएका श्रेष्ठ वर्तमान सरकारले एमसीसी कार्यान्वयनमा लैजाँदा पनि बोलेका छैनन् । गृहमन्त्री श्रेष्ठले उतिबेला बोलेका भिडियो अन्तर्वार्ता यतिबेला सामाजिक सञ्जालमा भाइरल रहेका छन् । श्रेष्ठका पुराना अभिव्यक्ति सुन्नेहरूले अवसरवादी चरित्र भनेर टिप्पणी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement