काठमाण्डु– पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुईवटा ‘ओभरहेड क्यानोपी ब्रिज’ (बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल) निर्माण गरिने भएको छ ।
एसियाली राजमार्ग मापदण्डअनुसार चार लेनमा विस्तार भएको यस खण्डको कावासोती र लाकाहा बीचको जङ्गल तथा चोरमारा र अरुणखोला बीचको जङ्गलमा दुईवटा ओभरहेड क्यानोपी ब्रिज निर्माण गर्ने तयारी भइरहेको छ ।
नारायणघाट–बुटवल सडक विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार बाँदरका कारण राजमार्गमा दुर्घटना बढ्दै गएपछि बाँदरलाई बाटो काट्नका लागि ओभरहेड क्यानोपी ब्रिज निर्माण गर्न लागिएको हो ।
पूर्वपश्चिम राजमार्गको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) खण्डमा यसअघि एउटा ओभरहेड क्यानोपी ब्रिज निर्माण भइसकेको छ । गैँडाकोट–१० स्थित पितौँजी जङ्गलमा निर्माण भएको क्यानोपी ब्रिजबाट फाट्टफुट्ट बाँदरहरू वारपार गरेको देखिने गरेको पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनाले बताए ।
निर्माण सकिएको आभेरहेड क्यानोपी ब्रिजमा योजनाले केही समयमै बाँदरलाई आकर्षित गर्नेगरी फलफूल राख्ने तयारी गरिएको उनले जानकारी दिए ।
ओभरहेड क्यानोपी ब्रिज निर्माण गरेर वन्यजन्तुको प्राकृतिक आवतजावतलाई सहज बनाउनुका साथै जैविक विविधता संरक्षण, वन्यजन्तु–सवारी दुर्घटना न्यूनीकरण तथा सडक पूर्वाधारलाई वातावरणमैत्री बनाउने प्रयास गरिएको बताइएको छ ।




प्रतिक्रिया