नारायणगढ–मुग्लिन सडक विस्तारको लागत ४३ करोड बढ्ने

नारायणगढ–मुग्लिन सडक विस्तारको लागत ४३ करोड बढ्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – नारायणगढ–मुग्लिन सडक विस्तारको लागत मूल्यमा कम्तीमा ४३ करोड बढ्ने भएको छ ।

एक वर्षभन्दा बढी समय थपिनु, निर्माण शुरु हुनुभन्दा दुई वर्षअघिको लागत अनुमान अनुसार बोलपत्र गरिनु, कामका क्रममा कतिपय अत्यावश्यक काम थपिएपछि लागत मूल्य बढेको हो । विसं २०७२ वैशाखमा दुई वर्षमा सम्पन्न गर्ने गरी करीव दुई अर्ब ८९ करोडमा तीन ठेकेदार कम्पनीलाई ठेक्का दिइएको थियो ।

विभिन्न काममा हालसम्म करीव रु २७ करोड ७५ लाख खर्च भइसकेको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका परामर्शदाता कम्पनीका आवासीय इञ्जिनीयर पुष्कर रेग्मीका अनुसार पहिलो खण्डको ठेक्का करीव ६० करोड ६१ लाख रहेकामा बढेर करीव ६८ करोड ९७ लाख पुगेको छ । त्यस्तै दोस्रो खण्डमा ठेक्का लगाउंदाको रकम करीव ९७ करोड ६७ लाख रहेकामा बढेर करीव एक अर्ब १० करोड पुगेको छ । तेस्रो खण्डको करीव एक अर्ब ३० करोडमा ठेक्का लगाइएकामा बढेर करीवरु एक अर्ब ४१ करोड पुगेको छ ।

पहिलो खण्डमा १३.८१, दोस्रो खण्डमा १२.७२ र तेस्रो खण्डमा ८.२२ प्रतिशत बढिसकेको छ । रेग्मीका अनुसार थपिएको भित्तो कटाइ, पहिरो पन्छाइ, पहिराका कारण पर्खाल लगाउंदा, बोलपत्रभन्दा स्तरीय नाली बनाउंदा, कालोपत्र थप फराकिलो बनाउनेजस्ता काममा खर्च थपिएको हो ।सडक आयोजनाका निमित्त प्रमुख गोविन्द खनालका अनुसार मूल्य वृद्धिको रकम समावेश गर्न बांकी छ । मुद्रास्फीति दरका आधारमा लागत बढ्छ ।

यसका अतिरिक्त वायो इञ्जिनीयरिङका कतिपय काम बोलपत्रमा समावेश नभएकाले ती कामसहित आरसिसी रिटेनिङ वाल, सडकमाथिका डांडाबाट झरेको पानी भित्तोमा कुलो बनाएर व्यवस्थापन गर्नेजस्ता कामका लागि करीव २६ करोड १३ लाख लागत अनुमान भएको छ । काम गरिरहेका ठेकेदारले सो रकममा छुटेका काम गर्न नसकिने जनाएपछि छुट्टै ठेक्का लगाएर काम गरिंदैन । वर्षाद्मा बाढीअघि नै गर्नुपर्ने कतिपय महत्वपूर्ण काम भएकाले ती काम आउंदो सातादेखि कामदार लगाएर गर्ने तयारीसमेत गरिंदैछ, जसमा पहिरो रोक्ने महत्वपूर्ण काम छन् ।

सडकको निर्माण लागत १५ प्रतिशतसम्म बढ्दा सडक विभागका महानिर्देशकको स्वीकृतिबाट हुने गर्छ । सोही अधीनमा रहने गरी लागत मूल्य बढाउने तयारी भइरहेको छ । परामर्शदाता कम्पनी इञ्जिनीयर रेग्मीले सकेसम्म १५ प्रतिशत मात्र लागत मूल्यवृद्धि हुने गरी काम सक्ने र केही छुटपुट काम भएपछि गर्ने तयारी भइरहेको बताए । यसबाट लागत मूल्य करीव ४३ करोड ३१ लाख बढ्छ । निर्माण सम्पन्न गरिसक्ने मिति पहिलो खण्डलाई चैत ९, दोस्रो खण्डलाई चैत १९ र तेस्रो खण्डलाई चैत २९ सम्म तोकिएको छ ।