चीन जानुअघि परराष्ट्रमन्त्री श्रेष्ठद्वारा आन्तरिक परामर्श, यी एजेन्डा समेट्न सुझाव


काठमाण्डु – उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चीन भ्रमणमा जानुअघि आन्तरिक परामर्श गरेका छन् ।

भ्रमणलाई फलदायी बनाउन मन्त्री श्रेष्ठले शनिबार विभिन्न मन्त्रालयका उच्च पदस्थ अधिकारीसँग छलफल गरेका छन् ।

परराष्ट्र मन्त्रालयमा भएको छलफलमा विगतमा चीनसँग भएका सम्झौता कार्यान्वयनको अवस्थाबारे जानकारी लिएका छन् ।

छलफलका क्रममा ऊर्जा, व्यापार, पर्यटन, सम्पर्क सञ्जाल, कृषि, प्रविधि हस्तान्तरण, सीमा व्यवस्थापन लगायत विषयमा चिनियाँ पक्षसँग कुरा राख्न सुझाव दिइएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठ चिनियाँ समकक्षी वाङ यीको मैत्रीपूर्ण निमन्त्रणमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोलि चैत ११ गते चीन भ्रमणमा जान लागेका छन् ।

उपप्रधानमन्त्री श्रेष्ठले चीन भ्रमणमा २ देशबीचको सम्बन्धलाई सुदृढ गर्ने तथा द्विपक्षीय पारस्परिक सहायता अभिवृद्धिबारे केन्द्रित हुने बताए । ‘अहिलेको मेरो चीन भ्रमणले २ देशबीचको सम्बन्धलाई थप मजबुद र पारस्परिक सहयोगात्मक सम्बन्धलाई पनि राम्रो बनाउने छ,’ उनले भने, ‘अहिलेसम्म भएका सम्झौताको कार्यान्वयन प्रक्रियाबारे चिनियाँ पक्षसँग छलफल हुनेछ ।’

छलफलमा राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, अर्थ मन्त्रालयका राजस्व सचिव डा.रामप्रसाद घिमिरे, रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा, ऊर्जा सचिव गोपालप्रसाद सिग्देल, सिँचाइ सचिव सुशीलचन्द्र तिवारी लगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement