परराष्ट्रमन्त्री श्रेष्ठ असार १० गते इरान जाने

परराष्ट्रमन्त्री श्रेष्ठ असार १० गते इरान जाने


काठमाण्डु – उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आगामी असार १० गते इरान जाने भएका छन् ।

‘एसियन को–अपरेसन डाइलग’को परराष्ट्रमन्त्री स्तरीय सम्मेलनमा सहभागी हुन उनी इरान जान लागेका हुन् ।

डाइलगमा ३५ देश सदस्य छन् । सम्मेलनका क्रममा श्रेष्ठले चिनियाँ र भारतीय समकक्षीसँग पनि भेटवार्ता गर्नेछन् । यसअघि उपप्रधानमन्त्री श्रेष्ठले चीन भ्रमण गरिसकेका छन् ।

नेपाल सन् २०१६ देखि डाइलगको सदस्य छ । डाइलगले एसियाको गरीबी घटाउन र एसियाली जनताको जीवनस्तरमा सुधार ल्याउन सहयोग र सहकार्य गर्दै आएको छ ।

एसियाभित्रको व्यापार र वित्तीय बजार विस्तार गरी विश्व बजारमा एसियाको आर्थिक प्रतिस्पर्धात्मकता बढाउन तथा विश्वसँग समानताका आधारमा अन्तर्क्रिया गर्न र पारस्परिक शान्ति र समृद्धिमा थप सकारात्मक योगदान दिन डाइलगले पहल गर्दै आएको छ ।