माओवादीले ८४ सालको चुनावमा बहुमत नल्याए देश संकटमा फस्छ : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

माओवादीले ८४ सालको चुनावमा बहुमत नल्याए देश संकटमा फस्छ : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीले २०८४ सालमा बहुमत नल्याए देश थप संकटमा फस्ने बताएका छन् ।

शनिबार काठमाण्डुमा आयोजित दोलखा–काठमाण्डु सम्पर्क समन्वय समितिको छैटौं सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गरेको कामकै कारणले अहिले माओवादीप्रति आकर्षण बढेको सुनाए । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कांग्रेस र एमालेलाई भ्रष्ट तत्वको संज्ञा दिए ।

श्रेष्ठले भिजिट भिसा प्रकरणमा सरकारमा रहेका २ राजनीतिक दलहरूसँग गरेको सम्झौता पार्टी हितमा भए/नभएकोबारे समीक्षा हुनुपर्ने बताए ।

सरकारमा रहेका २ राजनीतिक दलहरूसँग २ बुँदे सम्झौता भएपछि संसद् खुलेको उनले बताए । उनले त्यसबारेमा विभिन्न प्रतिक्रियाहरू आइरहेकाले पार्टी अध्यक्षसँग प्रत्यक्ष छलफल हुन नसकेको र अध्यक्षले समग्र परिस्थितिको लेखाजोखा गरेर त्यस्तो निष्कर्षमा पुग्नुभएको हुनसक्ने बताए ।

उनले भने, ‘देशलाई संकटबाट मुक्त गराउन हाम्रो पार्टीको नेतृत्व आवश्यक छ । २०८४ सालको चुनाव आउँदैछ । देश बर्बाद भयो भन्ने अनि माओवादीलाई बहुमतको सरकार बनाउने ठाउँमा पुर्‍याउन सकेन भने देश झन् संटकमा फस्छ,’ उनले अगाडि भने, ‘भ्रष्टहरूलाई खबरदारी गर्न हामीले जनताकहाँ गएर अभियान चलाएका छौं । जनतासँग बसेर खबरदार गरेका छौं । आफूलाई नसच्याए अर्को ठूलो जनआन्दोलनको सामना गर्न र त्यसको परिणाम भोग्न तयार रहनू भनेर चेतावनी पनि दिइरहेका छौं ।’

संसद् खुलाउन भएको २ बुँदे सहमतिबारे विभिन्न प्रतिक्रियाहरू आइरहेकाले त्यसबारेमा पार्टी अध्यक्षसँग प्रत्यक्ष छलफल र भेटघाट गरेर निष्कर्षमा पुग्ने उनले बताए । उनले हाल आफ्नो पार्टीले लिएको मुद्दा नछाड्ने र भ्रष्टाचार विरुद्धको अभियान जारी राख्ने प्रतिक्रिया दिए ।