कालापानीबाट भारतीय फौज हटाउन नेपाल सफल हुन्छः नारायणकाजी श्रेष्ठ


काठमाडौं – राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले कालापानीबाट भारतीय फौज हटाउन नेपाल सफल हुने विश्वास व्यक्त गरेका छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा बोल्दै नेकपाका प्रवक्तासमेत रहेका श्रेष्ठले यस सम्बन्धमा सरकारले आफ्नो अडान र दृष्टिकोण प्रस्तुत गरेको भन्दै प्रशंसा व्यक्त गरे ।

‘सरकारको अडान सही र सकारात्मक छ । त्यसको स्वागत गर्न पनि चाहन्छु । राष्ट्रिय पार्टी सबैले विरोध गरेका छन् । म यसको पनि स्वागत गर्न चाहन्छु । हामी देशको सार्वभौमिकताको रक्षा गर्न हाम्रो भूमि फिर्ता गर्न र हाम्रो भूमिमा रहेका विदेशी सेना फिर्ता पठाउन हामी सफल हुने छौं,’ उनले भने ।

उनले यस विषयमा राष्ट्रियसभामा विशेष समय छुट्टयाएर छलफल हुनुपर्ने पनि धारणा राखे । ‘भारतले महाकालीवारिको भूभाग लामो समयदेखि अतिक्रमण गर्दै आएको छ । हामीले विरोध गर्दै देशको एकइन्च भूमि पनि छोड्दैनौं भन्दै अडान राख्दै आएको छौं र हामी सिङ्गो देश त्यसमा प्रतिबद्ध पनि छौं । हामीले यो प्रक्रिया अगाडि बढाइरहेका बेलामा आफैं विवादित भनेर स्वीकार गरेको भूमिमा भर्खरै नेपालले लिपुलेकसम्म बाटो बनाउने र उद्घाटन गर्ने काम जो भारत सरकारले गरेको छ त्यसका प्रति आपत्ति प्रकट गर्दै चाहन्छु । विरोध गर्न चाहन्छौं । तत्काल त्यसप्रकारका कामहरू बन्द गरोस् भन्न चाहन्छु,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement