नेपालविरुद्धको बोली सच्याउन भारतीय सेनापतिलाई नारायणकाजीको चेतावनी


काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल कसैको पनि सुरक्षा छाताभित्र नबस्ने बताएका छन् ।

मंगलबार राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले भारतले अतिक्रमण गरेको भेपालको भूमी फिर्ता गर्नुपर्ने भएकाले आवेग र उत्तेजनामा नआउन आग्रह गरेका छन् ।

‘हामीले हाम्रो गुमेको भूमी फिर्ता गर्नुछ । त्यसैले कोही पनि आवेग, उत्तेजना र आवेगमा नआउँ ।’, उनले भने, ‘कूटनीतिक माध्यमबाट भूमि फिर्ता गर्ने प्रक्रियामा अगाडि बढौं ।’

सांसद श्रेष्ठले भारतलाई कूटनीतिक माध्यमबाट यो समस्याको समाधान गर्न आग्रह गरेका छन् ।

‘सीमा समस्याको विषयमा कूटनीतिक माध्यमबाट समाधान गर्न । तत्काल संवादमा आउन आग्रह गर्दछु । यो समस्याको समाधान ऐतिहासिक प्रमाणका आधारमा समाधान गर्न सकौं’ उनले भने, ‘दुई छिमेकी मुलुकसँगको मैत्रीपूर्ण सम्बन्धलाई अझै सुदृढ बनाउन सकौं ।’

सांसद श्रेष्ठले भारतीय सेनापति र पूर्वविदेशसचिवले नेपाल वार्तामा बस्न चाहिरहेको अवस्थामा आरोप लगाउनु आपत्तिजनक भएको बताए । उनले नेपालकको भूमि फिर्ताका लागि चीन वा अरु कुनै मुलुकको आवश्यकता नपर्ने बताउँदै सांसद श्रेष्ठले स्वाभिमानी नेपालीहरुका लागि इतिहास साँची रहेको बताए ।

‘नेपालबारे भारतीय सेना प्रमुख र पूर्व सचिवको भनाइ खेदजनक छ । म उहाँहरुलाई आफ्नो बोली सच्याउन आग्रह गर्न चाहान्छु,’ चेतावनीको शैलीमा उनले भने ।

त्यस्तै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पशुपतिनाथ, मुक्तिनाथको आराधाना गरी शक्ति लिन आग्रह गरेका छन् ।

‘तपाईंले पशुपतिनाथ, मुक्तिनाथसँग आराधाना गर्नुस् । शक्ति लिनुस् । आशीर्वाद लिनुस्। यस्तो तपोभूमिको एक इन्च भूमि पनि हामीले लिन हुँदैन भनेर,’ सांसद श्रेष्ठले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement