नयाँदिल्ली – भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारको नयाँ भिजन ‘शक्तिको सप्तधारा’ घोषणा गरेका छन् ।
स्वतन्त्रता दिवसका अवसरमा मोदीले लगातार १३औँपटक लालकिल्लाबाट राष्ट्रिय झन्डा फहराउँदै सम्बोधनमार्फत विकसित भारत र आत्मनिर्भर भारतको लक्ष्य हासिल गर्न ७ प्रमुख शक्तिलाई अघि सारेका छन् ।
लालकिल्लामा करिब सवा घण्टा लामो सम्बोधनमा उनले सरकारका उपलब्धि, आगामी नीति तथा भारतको आर्थिक र रणनीतिक लक्ष्यबारे धारणा राखेका छन् ।
प्रधानमन्त्री मोदीले रक्षा सामग्री उत्पादन, विद्युत् उत्पादन, सेमिकन्डक्टर उद्योग तथा परमाणु ऊर्जाको विकासमा जोड दिए । विश्वव्यापी मल अभावका बाबजुद भारतीय किसानलाई सस्तोमा मल उपलब्ध गराइएको विषय पनि उनले सम्बोधनमा भनेका छन् ।
भारतको आगामी विकास यात्राका लागि ७ क्षेत्रलाई ‘शक्तिको सप्तधारा’का रूपमा प्रस्तुत गरिएको छ । उनका अनुसार यी ७ शक्तिले आगामी ५–७ वर्षमा भारतलाई नयाँ उचाइमा पुर्याउन सहयोग गर्ने विश्वास छ ।
सप्तधारामा उत्पादन, कृषि तथा खाद्यान्न, प्रविधि तथा नवप्रवर्तन, गतिशक्ति, रक्षा शक्ति, हरित तथा निलो अर्थतन्त्र र सफ्ट पावर समेटिएका छन् ।
उनले सम्बोधनका क्रममा ‘नक्सलमुक्त भारत’ निर्माणमा भएको प्रगति र सन् २०३६ को ओलम्पिक आयोजना गर्न भारतले गरेको दाबीबारे पनि बोलेका छन् । भारतलाई रक्षा, ऊर्जा, प्रविधि र उत्पादनका क्षेत्रमा थप आत्मनिर्भर बनाउने योजनालाई प्राथमिकतामा राखिएको छ ।




प्रतिक्रिया