जेन-जी पुस्तामाझ मोदीको ‘बलियो’ छवि धुमिल बन्दै

जेन-जी पुस्तामाझ मोदीको ‘बलियो’ छवि धुमिल बन्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतका जेन–जी पुस्ताका धेरै युवाले सायद नरेन्द्र मोदीलाई आफ्नो साथी ठान्दैनन् । तर प्रधानमन्त्री मोदी अहिले उनीहरूसँग साथीझैं संवाद गर्ने प्रयासमा देखिएका छन् ।

७५ वर्षीय मोदीले लामो समयसम्म भाषण, औपचारिक प्रसारण तथा अत्यन्तै योजनाबद्ध सार्वजनिक कार्यक्रममार्फत एक शक्तिशाली नेताका रूपमा आफ्नो छवि निर्माण गरेका छन् ।

तर, पछिल्ला केही हप्तामा उनले इन्स्टाग्राममा अझ सहज र अनौपचारिक शैली अपनाउन थालेका छन् । फोटो र भिडियो साझा गर्नेदेखि सामाजिक सञ्जाल इन्स्टाग्राम युवामाझ लोकप्रिय छवि बनाउने प्रयासमा छन् ।

करिब एक महिनाअघिसम्म मोदीको टाइमलाइनमा अत्यन्त सोचविचार गरेर तयार पारिएका पोस्टहरू मात्र देखिन्थे । अहिले भने त्यहाँ केही ‘क्यान्डिड’ अर्थात् स्वाभाविक र अनौपचारिक सामग्री पनि देखिन थालेका छन् ।

यसमा ‘गेट रेडी विथ मी’ शैलीका रीलदेखि युवालाई सम्बोधन गरिएका विभिन्न सेल्फी–शैलीका भिडियोसम्म छन् । ती भिडियोमा मोदीले युवाहरूलाई ‘साथीहरू’ भनेर सम्बोधन गर्ने गरेका छन् ।

एउटा भिडियोमा उनले जेन–जी पुस्तामाझ लोकप्रिय अभिव्यक्ति ‘फर्स्ट इन माइ ब्लडलाइन’ को पनि उल्लेख गरेका छन् ।

दिल्लीमा आयोजित एक दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले भनेका थिए, ‘यो त्यही पुस्ता हो, जसले रकेट, चिप र ड्रोन बनाउने काम गरेको छ ।’

इन्स्टाग्राममा मोदीका १० करोड ६० लाखभन्दा बढी फलोअर्स छन् । यसले उनलाई उक्त प्लेटफर्ममा सबैभन्दा धेरै फलो गरिने राजनीतिक नेतामध्ये एक बनाएको छ ।

तर, यस प्लेटफर्ममा उनको संवाद शैली कहिल्यै पनि उनको टोली वा भारतीय जनता पार्टी (भाजपा) को सामाजिक सञ्जाल रणनीतिको मुख्य हिस्सा थिएन ।

भाजपा सन् २०१४ को निर्वाचनमा सफलता दिलाउने प्रभावकारी डिजिटल रणनीति प्रयोग गर्ने पार्टीका रूपमा परिचित भए पनि इन्स्टाग्राममा यस्तो व्यक्तिगत र अनौपचारिक संवादलाई प्राथमिकता दिइएको थिएन ।

बदलिएको रणनीति

तर, यस वर्ष भारतमा भएका युवा प्रदर्शनपछि परिस्थिति बदलिएको देखिन्छ ।

व्यंग्यका रूपमा सुरु भएको ककरोच जनता पार्टी (सीजेपी)को नेतृत्वमा भएको आन्दोलन मीम, लाइभस्ट्रिम र इन्स्टाग्राम रीलमार्फत फैलिएको थियो । पछि यो आन्दोलन यति प्रभावशाली बन्यो कि केन्द्रीय शिक्षामन्त्रीले राजीनामा दिनुप¥यो ।

सीजेपी सुरुमा मजाकका रूपमा जन्मिएको थियो । तर, अनलाइनमा प्राप्त समर्थनलाई सडकमा जम्मा भएको भीड र राजनीतिक दबाबमा रूपान्तरण गर्ने यसको क्षमताले भाजपालाई चकित बनाइदियो ।

लेखक तथा टिप्पणीकार अनुराग वर्माका अनुसार एक दशकभन्दा बढी समयदेखि भाजपाले ह्वाट्सएप समूह, फेसबुक पेज र एक्स अकाउन्टमार्फत आफ्ना सन्देश व्यापक रूपमा फैलाउँदै भारतको सबैभन्दा शक्तिशाली अनलाइन राजनीतिक शक्तिमध्ये एक निर्माण गरेको छ ।

तर भारतीय युवाले सामग्री र राजनीतिलाई फरक ढंगले हेर्ने र बुझ्ने गर्छन् । विशेषज्ञहरूका अनुसार भारतको ६० प्रतिशतभन्दा बढी जनसंख्या ३५ वर्षभन्दा कम उमेरको छ । सन् १९९७ देखि २०१२ बीच जन्मिएको जेन–जी पुस्ता सन् २०२९ को आमनिर्वाचनसम्म देशको सबैभन्दा ठूलो मतदाता समूहमध्ये एक बन्ने अपेक्षा गरिएको छ ।

त्यसैले उनीहरूलाई आफ्नो पक्षमा ल्याउन इन्स्टाग्रामजस्ता प्लेटफर्मसम्म पुग्नु आवश्यक छ, जहाँ परम्परागत राजनीतिक सन्देशभन्दा व्यक्तिगत, स्वाभाविक र कम ‘फिल्टर’ गरिएको सामग्री बढी प्रभावकारी हुन सक्छ ।

पहिलो रीलमै व्यंग्य र आलोचना

मोदीका नयाँ पोस्ट पहिलोपटक इन्स्टाग्राममा आएपछि यो परिवर्तन स्पष्ट देखियो । युवा प्रयोगकर्ताले तत्कालै तिनको व्यंग्य गर्न थाले ।

धेरैले उनको पहिलो सेल्फी–भिडियो रीलको मजाक उडाए । यही भिडियोमार्फत उनले युवा प्रदर्शनबारे आफ्नो मौनता तोडेका थिए, जबकि प्रदर्शन जारी नै थियो ।

तर, सबैभन्दा धेरै ध्यान उनले ‘साथीहरू’ भनेपछि लिएको लामो विरामले खिच्यो । छिट्टै उक्त भिडियोका विभिन्न संस्करण अनलाइनमा ट्रेन्ड हुन थाले । मानिसहरूले त्यसमा फरक–फरक सम्पादन र ठट्टा थपे । धेरै प्रयोगकर्ताले भिडियोको प्रकाश व्यवस्था र क्यामेराको कोणको समेत मजाक उडाए ।

भाजपाको रणनीतिमाथि प्रश्न

रिपोर्टहरूका अनुसार भाजपालाई पनि युवासम्म पुग्ने उसको प्रयास अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको महसुस भएको छ ।

प्रदर्शनका क्रममा मोदीले आफ्ना मन्त्रिपरिषद्का सदस्यलाई सामाजिक सञ्जालमा सक्रियता बढाउन र युवासम्म पुग्न निर्देशन दिएको बताइएको छ ।

हिन्दुस्तान टाइम्सको एक रिपोर्टअनुसार बुधबार केन्द्रीय मन्त्रीहरूलाई सामाजिक सञ्जालमा उनीहरूको प्रदर्शनसम्बन्धी ‘रिपोर्ट कार्ड’ दिइएको थियो र विभिन्न प्लेटफर्ममा आफ्नो उपस्थिति बढाउन भनिएको थियो ।

हालै भाजपाले आफ्नो सामाजिक सञ्जाल प्रमुख अमित मालवीयलाई पनि उक्त जिम्मेवारीबाट हटाएको छ । उनले सन् २०१५ देखि यो जिम्मेवारी सम्हाल्दै आएका थिए ।

केही विश्लेषकका अनुसार यसको एउटा कारण प्रदर्शनका क्रममा भाजपाले अनलाइनमा भोगेको आलोचना र सामाजिक सञ्जालमा निर्माण भइरहेको कथ्यलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न नसक्नु पनि हुन सक्छ ।

भाजपाका लागि अर्को चुनौती भनेको भिडियो पोस्ट भएपछि त्यसको अर्थ र प्रयोगमाथि आफ्नो नियन्त्रण नहुनु पनि हो ।

मोदीको पहिलो रील यसको उदाहरण हो, जसलाई ४० करोडभन्दा बढी पटक हेरिएको छ । यसले ठूलो संख्यामा दर्शकसम्म पहुँच बनाएको छ ।

तर युवाले उक्त भिडियोलाई व्यंग्यात्मक र हास्यपूर्ण सम्पादनसहित पुनः साझा गरे । यसले भिडियोको स्वर मोदीको मूल उद्देश्यभन्दा निकै फरक बनाइदियो ।

बीबीसी हिन्दी सेवाबाट