काठमाण्डु– संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभा बैठक मंगलबार पनि कार्यसूचीमा प्रवेशै नगरी स्थगित भएको छ ।
सांसदहरुले ‘नेपालतर्फबाट पनि भारतीय भूमि मिचिएको भन्ने’ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अभिव्यक्ति फिर्ता हुनुपर्ने माग राखेर बैठक अवरुद्ध गरेका हुन् ।
मंगलबार सांसदहरुले बैठक सुरु हुने बित्तिकै प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय सार्वभौमिकता र अखण्डतामा आँच आएको भन्दै विरोध गरे ।
प्रधानमन्त्रीले अभिव्यक्ति फिर्ता लिएर माफी नमागेसम्म संसदको कारबाही अघि बढ्न नसक्ने अडान उनीहरुको थियो ।
बैठकमा आकस्मिक समयमा बालेका राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको बताए ।
प्रधानमन्त्रीले कसैसँगको सल्लाहमा वा आफ्नै मनबाट बोलेका हुन् भन्ने विषय शंकास्पद रहेको दाबी उनको थियो ।
यसअघि सांसदहरुको विरोधका कारण सोमबार पनि राष्ट्रिय सभा बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगन भएको थियो ।
विपक्षी दलहरुले प्रतिनिधिसभामा पनि सोही माग राखेर नाराबाजी गर्दै आएका छन् ।
प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधिसभा बैठकमा सांसदका प्रश्नको जवाफ दिने क्रममा ‘नेपालले पनि धेरै ठाउँमा भारतको जग्गा कब्जा गरेको’ अभिव्यक्ति दिएका थिए ।
उक्त अभिव्यक्ति संसदको अभिलेखबाट हटाइनुपर्ने र प्रधानमन्त्री शाहले अभिव्यक्ति फिर्ता लिएर माफी माग्नुपर्ने माग विपक्षीको छ ।




प्रतिक्रिया