विपत्तिको सामना हुनेगरी भौतिक संरचना निर्माण गर्नुपर्छ : उपराष्ट्रपति पुन


काठमाडौं – सोमबार काठमाडौंमा आयोजित भू-वैज्ञानिकहरुको अन्तराष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले प्राकृतिक विपत्तिको सामना हुनेगरी भौतिक संरचना निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

उपराष्ट्रपति पुनले भौगोलिक जटिलतामा उभिएको नेपालले भू-विज्ञानसम्बन्धि ज्ञानको सदुपयोग गर्दै अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पारे । उनले भू–विज्ञानसम्बन्धि ज्ञानको आधारमा सडक लगायतका पूर्वाधार निर्माण गर्न सके विगतमा जस्तो प्राकृतिक विपत्तिको सामना गरिरहन नपर्ने पनि उल्लेख गरे ।

उपराष्ट्रपति पुनले प्राकृतिक स्रोत, साधनको उपयोग गरेर मुलुकलाई समृद्ध बनाउने अभियानमा अन्तराष्ट्रिय समुदायको सहयोग निरन्तर रहिरहने विश्वास समेत व्यक्त गरे । भारत, चीन, अमेरिका, इटालीलगायत ११ देशका १ सय ८० भन्दा बढि भू(वैज्ञानिकहरु सहभागी रहेको सम्मेलनले भू जोखिम न्यूनिकरण, पानीको व्यवस्थापन, खनिज उत्खनन लगायतका विषयमा गहन छलफल गर्नेछ ।

भू–जोखिमबाट बच्न र मुलुकको समृद्धिका लागि प्राकृतिक स्रोतहरुको उचित व्यवस्थापन गर्न सम्मेलन उपयोगी हुने त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवम् सम्मेलन आयोजक समितिका सहसंयोजक सुबोध ढकालले जानकारी दिए । सम्मेलनमा आर्थिक समृद्धि र दिगो विकासका लागि भू विज्ञानका उपयोगिताका विषयमा पनि विस्तृत छलफल हुनेछ ।

२०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पले धेरै जनधनको क्षति भएपछि त्यसको उचित व्यवस्थापनका लागि नेपालमा विपद व्यवस्थापनसम्बन्धि विभिन्न अन्तराष्ट्रिय सम्मेलन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement