संसदमा नवराज सिलवालले भने, ‘प्रदूषणले राजधानी ‘अशक्त’ अवस्थामा’


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं सांसद नवराज सिलवाले राजधानी काठमाडौं प्रदूषणका कारण अशक्त अवस्थामा रहेको बताएका छन्।

संघीय संसदमा बोल्दै सांसद सिलवालले संविधानको धारा ३० मा हरेक नागरिकले स्वच्छ वातवारणमा बाँच्न पाउनुपर्ने उल्लेख भएपनि राजधानीबासी प्रदूषणको सिकार भएको उल्लेख गरे।

सन् २०१७ मा सार्वजनिक प्रतिवेदनको हवाला दिँदै सांसद सिलवालले भने, ‘सन् २०१७ मा सार्वजनिक अध्ययन-प्रतिवेदनमा २ सय ६९ प्रदूषित सहरमध्ये काठमाडौं पाँचौं नम्बरमा छ।’

काठमाडौंको प्रदूषण खतराभन्दामाथि रहेको भनेर विज्ञहरुले औंल्याइरहेका बेला असार १ गते राति हिले वर्षा भएको उनको भनाइ छ।

सांसद सिलवालले पुराना र थोत्रा सवारीसाधनले प्रदूषण निम्त्याइरहेकाले सरकारले ती सवारीलाई विस्थापित गर्ने नीति अबलम्बन गर्नुपर्ने बताए।

‘राजधानीमा ११ लाख बढी सवारी गुड्नछन्। सडक साँघुरो र सीमित छ,’ उनले भने, ‘थोत्रा र पुराना सवारीले बढी प्रदूषण निम्त्याइरहेका छन्। तत्कालै पुराना सवारी साधनलाई विस्थापित गर्नुपर्यो।’

नागरिकले स्वच्छ वातावरणमा बाँच्न पाउने वातावरण सृजना गर्न सरकारले सोही बमोजिमका कार्यक्रम र बजेट ल्याउनुपर्ने उनको माग छ।

प्रतिक्रिया दिनुहोस
Advertisement