सिलवाललाई फसाउन आइजीपीको निवासमा ‘ग्रान्डडिजाइन’


काठमाडौं–पूर्वडिआइजी एवं एमाले सांसद नवराज सिलवाललाई कार्यसम्पादन मूल्यांकनमा कीर्तेको मुद्दामा अनेकन तानाबुनी भइरहेका बेला आइजीपी प्रकाश अर्यालकै निवासमा ‘ग्रान्डडिजाइन’ बनेको रहस्य बाहिर आएको छ।

सिलवालविरुद्ध मुद्दा दायर गर्न सहयोग नगरेको भन्दै केही दिन अघि मात्र काठमाडौं प्रहरी प्रमुख रवीन्द्र धानुकको सरुवा गरिएकोमा मंगलबार राति आइजीपी अर्यालको निवास नक्सालमा ‘ग्रान्डडिजाइन’ नै बन्यो।

समाचार स्रोतका अनुसार सिलवालविरुद्ध मुद्दा दायर गर्ने विषयमा आइजीपी अर्यालसहित मुुख्यसचिव लोकदर्शन रेग्मी, पूर्वमहान्याधिवक्ता रमण श्रेष्ठ, काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेल, मुद्दा फाँटका डीएसपी मोहन थापाबीच छलफल भएको थियो।

‘राति २ बजेसम्म छलफल भएको स्रोतले जनाएको छ।

यसअघि सिलवालविरुद्ध सरकारी कीर्तेमा मुद्दा दर्ता गर्न जिल्ला सरकारी वकिल कार्यालय र महान्यायाधिवक्ता कार्यालयका कर्मचारीले नमानेपछि उनीहरूबीच राति छलफल भएको थियो। बुधबार महान्यायाधिवक्ता बसन्तराम भण्डारी आफैंले दर्ता गर्ने तयारी थालेका थिए। तर, मुद्दा दर्ता भएको छैन।

सिलवालविरुद्धको सरकारी दस्तखत तथा कीर्ते मुद्दाको अनुसन्धानमा जिम्मेवार पक्षसग बयान नै नलिई एकपक्षिय ढंगले बनाएको प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ। कुनै पनि अनुसन्धान गर्दा सम्वन्धित पक्षसग छलफल वा सोधपुछ गरेर बनाइन्छ।

तर प्रहरीले सो घटनामा संलग्न कसैको पनि बयान नै नलिई प्रतिवेदन तयार पारेर त्यसमा सुझाव समेत पेश गरेर बुझाएको हो। सरकारी वकिल कार्यालयले प्रतिवेदन अपुरो भएको भन्दै दर्ता गरेको छैन।

ललितपुर १ का सांसद सिलवाललाई फसाउन शेरबहादुर देउवा नेतृत्वको सरकारले षड्यन्त्र गरेको भन्दै स्वतन्त्र नागरिक बुधबार सडकमा उत्रिएपछि झनै दबाब परेको हो।

उनीहरूले जिल्ला सरकारी वकिल कार्यालय परिसरमा बिरोध प्रदर्शन गरेका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement