कांग्रेस संसदीय दलको चुनावः शेरबहादुरको विकल्पमा प्रकाशमान कि शशांक ?


काठमाडौं – नेपाली कांग्रेसका संसदीय दलको बैठक फागुन १२ गते बस्न गइरहेको छ । तीनवटै निर्वाचन गराउन सफल भए पनि कांग्रेस नराम्ररी पराजित भएपछि पार्टी सभापति समेत रहेका स‌ंसदीय दलका नेता शेरबहादुर देउवामाथि दबाब बढेका बेला यो बैठक बस्न लागेको हो ।

संसद् सचिवालयले फागुन २१ गतेका लागि संघीय संसद बैठक डाकेकाले शनिबार हुने बैठकले कांग्रेसको संसदीय दलको नेता चयन गर्ने सम्भावना छ।

कोइराला र सिंहको चुनौती

संसदीय दलको नेताका सभापति शेरबहादुर देउवालाई महामन्त्री डा. सशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले चुनौती दिइरहेका छन्। उनीहरु देउवालाई सर्वसम्मत संसदीय दलको नेता हुन नदिने कसरतमा छन्। महामन्त्री कोइराला र पूर्व महामन्त्री सिंहले पनि संसदीय दल नेताका लागि आफूलाई प्रतिस्पर्धीका रुपमा अघि सारिसकेका छन् ।

देउवाले संसदीय दल र पार्टी समेत राम्रोसँग चलाउन नसकेको आरोप उनीहरुले लगाएका छन् । देउवा नेतृत्वको सरकार हुँदासमेत स्थानीय,प्रदेश र प्रतिनिधि सभामा कांग्रेसले लज्जास्पद पराजय भोगेको उनीहरुले आरोप लगाएका छन् । देउवाले पार्टी र संसदीय दलको नेता दुवै चलाउन नसक्ने ठहरसहित उनीहरुले चुनौती दिएका हुन् ।

देउवा डडेलधुरामा प्रतिनिधि सभामा निर्वाचित भएका हुन् डा. कोइराला पूर्व नवलपरासी क्षेत्र नम्बर १ बाट र सिंह काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन्।

यसकारण देउवालाई समस्या

पूर्व महामन्त्री सिंहले आफू संसदीय दलको नेता हुन योग्य भएको बताउँदै आएका छन् । देउवाले विगतमा संसदीय दल राम्रोसँग नचलाएको आरोप सिंहको छ।

सिंहले शुक्रबार सिन्धुली पुगेर सभापति देउवाले संसदीय दलको बैठक समेत नियमित राख्न नसकेको आरोप लगाए। सिंहले देउवाले पार्टी ‘मोनोपोली’ रुपमा सञ्चालन गरिएको अर्को आरोप पनि लगाए।

देउवालाई हराउँछु: सिंह

‘सभापति देउवाले यसअघिको संसदीय दलको बैठक त नियमित गर्न सक्नु भएन, अब पनि संसदीय दलको नेता उहाँ हुन सक्नुहुन्न’, सिंहले कटाक्ष गर्दै भने । उनले पार्टी सभापति देउवाविरुद्ध आफुले उम्मेदवार दिने पनि घोषणा गरे ।

देउवाले संसदीय दलको नेतामा दाबी गरेमा आफू प्रतिस्पर्धामा उत्रिएर संसदीय दलको नेता हुने दाबी पनि उनले गरे। ‘परम्परागत रुपमै संसदीय दलको नेता बनाए सिङ्गो पार्टीको हितमा हुँदैन’, उनले भने ।

सिंहले कांग्रेस बेलैमा नसुध्रिए संकटमा पर्ने समेत बताए। देउवाले पार्टीलाई गतिशिल बनाउन नसक्दा निर्वाचनमा पराजित हुनु परेको सिंहको ठहर छ।

सर्वसम्मतको पक्षमा शशांक

कोइरालाले सर्वसम्मति भएमा आफू संसदीय दलको नेता बन्न इच्छुक रहेको बताउँदै आएका छन् । महामन्त्री डा. कोइरालाले चितवन पुगेर पार्टी संसदीय दलको नेतामा शेरबहादुर देउवाको विकल्प खोजी गर्ने बताएका हुन्।

महामन्त्री कोइरालाले सर्वसम्मत भएमात्रै आफू संसदीय दलको नेता बन्न चाहेको बताए। संसदीय दलको नेताको चुनाव लड्ने योजनामा भने डा. कोइराला छैनन्। वामपन्थीको सरकार बनेको अवस्थामा त्यसलाई कडा टक्कर दिने संसदीय दलको नेता हुनु पर्ने उनको भनाई छ।

विकल्प खोज्दै रामचन्द्र समुह

रामचन्द्र पौडेल पक्षले संसदीय दलको नेतामा देउवालाई चुनौती दिन सके महामन्त्री डा. कोइराला नभए सिंहलाई उम्मेदवार बनाउने कसरत गरिरहेको छ।

देउवा पनि महामन्त्री डा. कोइरालालाई संसदीय दलको जिम्मा दिएर पार्टीको कमान मात्रै हाँक्ने मुडमा रहेको तर निचोडमा पुगिनसकेको उनीनिकट नेताहरु बताउँछन्। देउवा आफूनिकट संसदीय दलको नेताको विषयमा पनि परामर्शमा छन्।

समानुपातिकले देउवा बलियो

प्रत्यक्षमा बराबर रहेपनि समानुपतिकतर्फबाट संसदीय दलमा देउवा पक्ष हाबी छ। प्रतिनिधि सभाको २७५ सिटमध्ये कांग्रेसले प्रत्यक्षमा २३ र समानुपातिकमा ४० सहित ६३ स्थान जितेको छ । त्यसैगरि ५९ सदस्यीय राष्ट्रिय सभामा १३ सिट कांग्रेसले जितेको छ। आजको अन्नपुर्ण पोष्टमा समाचार छ।

प्रतिक्रिया दिनुहोस
Advertisement