कांग्रेसमा नेतृत्वमाथि दबाब बढाउँदै सिटौला समूह


काठमाडौं – कांग्रेसमा तेस्रो समूह भनेर चिनिने सिटौला पक्षले आफ्नो सक्रियता बढाउन थालेको छ । कृष्णप्रसाद सिटौलाले नेतृत्व गरेको यो समूहका नेताहरूले सोमबार पनि सरकार र पार्टी नेतृत्वको सामूहिक आलोचना गरे ।कांग्रेस पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९५औँ जन्मजयन्तीका अवसरमा नेताहरूले सरकारको विरोध मात्रै गरेनन्, पार्टी नेतृत्वसँग १४औँ महाधिवेशन गर्न माग पनि गरे ।

जिपी कोइराला अध्ययन केन्द्रले गरेको ‘देशको राजनीतिक परिस्थिति र नेपाली कांग्रेसको भूमिका’ विषयक विचार गोष्ठीमा सिटौलासहित गगन थापा, उमाकान्त चौधरी, प्रदीप पौडेललगायत नेताले कांग्रेसकै संस्थापन समूहको आलोचनागरेका हुन् । सरकारले न्यायालयदेखि सुरक्षा संयन्त्र, प्रेस, मानवअधिकार सबैतिर हस्तक्षेपको नीति लिएको आरोप लगाए । साथै, संघीय प्रणालीअनुसारका संयन्त्र बनाएर प्रभावकारी रूपमा पार्टी चलाउन नसक्दा कांग्रेस नेतृत्वले सरकारविरुद्ध दबाब बढाउनै नसकेको उनीहरूको भनाइ थियो । 

कांग्रेसलाई सुधार्ने विचार समूहका रूपमा आफूहरूलाई अथ्र्याउँदै उनीहरूले विधि, विधान र पद्धतिअनुसार नचले पार्टी झन् कमजोर भएर जाने टिप्पणी गरे । कार्यक्रममा केन्द्रीय सदस्य शिव हुमागाईं, विद्यार्थी नेता कुन्दन काफ्ले, नेताहरू देवराज चालिसे, उत्तम चापागाईं, रामप्रसाद अधिकारीसहितले पार्टी सुधारका लागि निरन्तर खबरदारीको खाँचो औँल्याए । आजको नयांपत्रिका दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस
Advertisement