सरकारमाथी कांग्रेसको हमला : सत्तालाई बार्गेनिङ चिप्स बनाएको आरोप


काठमाडौं – प्रमुख प्रतिपक्षी दल कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी ओली सरकारको सयदिने कार्यकाल सामान्य उपलब्धि र अनगिन्ती विसंगति भएको आरोप लगाएको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भिडियो विज्ञप्तिमार्फत ओली सरकारको सय दिन उल्लेखनीय नरहेको बताएका छन् । गत वर्ष भएका स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनताका मतदातासँग गरेका सयौं बाचाविपरीत ओली सरकार अघि बढेको भन्दै उनले विज्ञप्तिमा एक दर्जन आरोप लगाएका छन् ।

कांग्रेसले सांसदको शपथ नलिई प्रधानमन्त्रीको शपथ लिन हुन्थ्यो हुँदैनथ्यो भन्ने नैतिक र राजनीतिक प्रश्न फेरि उठाउँदै प्रधानमन्त्रीले शपथ लिँदा भगवान, जनता वा देशमध्ये कसैको नामबाट लिनु पर्ने वा नपर्ने प्रश्नसमेत गरेको छ । संविधानको धारा ८६ को उपधारा २ (ख) बमोजिम तत्कालीन सरकारले राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि गरेको सिफारिस अनधिकृत रूपमा अस्विकार गर्ने काम राष्ट्रपतिबाट गराउँदै मनोेवैज्ञानिक दबाव दिन थालेको आरोप पनि कांग्रेसले लगाएको छ । संघीयतामा गइसकेको देशमा प्रधानमन्त्री कार्यालयमा राजस्व अनुसन्धान, राष्ट्रिय अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरणलगायत निकाय गाभ्ने सोच देखिएको आरोप पनि कांग्रेसले लगाएको छ ।

संविधान संशोधन गर्ने संकेत गर्दै मधेसी दल तरंगित पार्ने, अल्मल्याउने र सत्तालाई बार्गेनिङ चिप्स बनाएर मधेसकेन्द्रित दलहरूसँग संवाद गर्नु उचित नभएको ठहर कांग्रेसको छ । अर्थतन्त्रबारे श्वेतपत्र जारी गर्दा नकारात्मक सूचक मात्र प्रस्तुत गर्दै देशको ढुकुटी रित्तो देखाउन खोजेकोमा कांग्रेसले आक्रोश व्यक्त गरेको छ । ओली सरकारले न्यायालय नेतृत्वविहीन बनाएको आरोप पनि उसले लगाएको छ । संघीयतामा गइसकेपछि प्रदेशलाई सशक्त पार्नुपर्ने र बजेटसम्बन्धी ऐनकानुन ल्याउन नसक्नु अर्को विसंगति रहेको दाबी कांग्रेसको छ । आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement