काठमाण्डु – नेपाली सेनाका प्रवक्ता सहायक रथि राजेन्द्र श्रेष्ठले नेपाली सेनाले जनताको सूचनाको हकको सदा सम्मान गर्ने बताएका छन् ।
सैनिक मुख्यालयमा बिहीबार पत्रकारहरूसँग अन्तर्क्रियाका क्रममा नवनियुक्त प्रवक्ता तथा नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक श्रेष्ठले राष्ट्र र जनताको सेवामा समर्पित रही राष्ट्रिय सुरक्षालाई ध्यानमा राखेर नेपाली सेनाले जनताको सूचनाको हकको सम्मान गर्ने बताए ।
उनले भने, ‘नेपाली सेना प्रेससँग समन्वय र सहकार्यमा अघि बढिरहेको छ र भोलिका दिनमा पनि यसलाई निरन्तरता दिन्छ । सदा सूचनाको हकलगायत नागरिक स्वतन्त्रताको संरक्षणमा प्रतिबद्ध सेनाले विकास निर्माण लगायत अन्य सैन्य गतिविधिहरू मिडिया मार्फत् समयमै सार्वजनिक गर्नेछ ।’ उनले नेपाली सेना र नेपाली सञ्चारमाध्यमबिचको सम्बन्ध सदैव व्यावसायिक र सुमधुर रही आएको पनि स्पष्ट गरे ।
उनले सामाजिक सञ्जाल एवं कतिपय मिडियामा समेत यदाकदा भ्रमपूर्ण र मिथ्या सूचना आउने गरेको बताउँदै यस्तो गलत प्रवृत्तिलाई सबैले मिलेर रोक्नुपर्ने धारणा पनि राखे ।
राष्ट्रिय संकटको घडीमा नेपाली सेनाले जस्तै नेपालका आमसञ्चारकर्मीहरूले पनि राष्ट्र, राष्ट्रियता र जनताका पक्षमा निर्वाह गर्दैै आएको भूमिकाको प्रशंसा पनि गरे ।
सो कार्यक्रममा नेपाली सेनाका निवर्तमान प्रवक्ता राजाराम बस्नेतले सुरक्षा र सूचनाका बिचको सम्बन्ध अन्योन्याश्रित रहेको प्रसंग उल्लेख गर्दै नेपाली मिडिया जगतले सधैँ नेपाली सेनासँग समन्वय गरेर सूचना प्रवाह गर्ने गरेको चर्चा गरेका छन् ।
त्यस अवसरमा वरिष्ठ पत्रकार बबिता बस्नेतले पछिल्ला वर्षमा राष्ट्रिय सुरक्षा लगायत अन्य कतिपय संवेदनशील विषय र क्षेत्रहरूमा प्रेस र सेनाबीचको समन्वय र सहकार्यले भ्रमपूर्ण र मिथ्या सूचना नियन्त्रणमा सकारात्मक भूमिका निर्वाह गर्ने गरेको धारणा राखेका छन् ।



प्रतिक्रिया