सेन्जेन- चीनका राष्ट्रपति सी चिनफिङले परमाणु हतियार मानवतामाथि झुन्डिएको तरबार भएको टिप्पणी गर्दै तिनलाई पूर्ण रूपमा उन्मूलन गर्नुपर्ने बताएका छन्।
चीन, अमेरिका र रुसका राष्ट्रप्रमुखबीच बिहीबार चीनको सेन्जेनमा बिहीबार भएको पहिलो ऐतिहासिक त्रिपक्षीय बैठकमा सीले आणविक हतियारको जोखिम घटाउन र विश्व शान्ति कायम गर्न तीनै देशले सहकार्य गर्नुपर्ने बताएका हुन्।
बैठकमा सीले आणविक युद्ध न जित्न सकिने न त लड्नुपर्ने अवस्था नै आउन दिन हुने बताए। उनले चीन, अमेरिका र रुसबीच टकराव होइन, मित्रता र सहकार्य हुनुपर्नेमा जोड दिए।
तीनै देशले शीतयुद्धकालीन सोच त्यागेर एकअर्काको सार्वभौमिकता, क्षेत्रीय अखण्डता र महत्त्वपूर्ण हितको सम्मान गर्नुपर्ने उनको भनाइ थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी बैठकमा विश्व शान्ति, आणविक हतियारको जोखिम, युक्रेन युद्ध, ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा छलफल भएको थियो। तीनै नेताबीच पहिलोपटक यस्तो त्रिपक्षीय बैठक भएको हो।
रुसी राष्ट्रपति पुटिनले दोस्रो विश्वयुद्धमा अमेरिका, चीन र रुसले विजय हासिल गरेको स्मरण गर्दै अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम राख्ने साझा जिम्मेवारी तीनै देशको भएको बताए।
तीन देशले मिलेर काम गरे विश्वमा स्थिरता बलियो बनाउन सकिने उनको भनाइ थियो। उनले बढ्दो अन्तर्राष्ट्रिय तनाव समाधान गर्न एकअर्कालाई अल्टिमेटम दिनुको सट्टा संवाद र वार्तालाई प्राथमिकता दिनुपर्ने बताए।
अमेरिकी राष्ट्रपति ट्रम्पले पनि तीन देशका नेताबीच पहिलोपटक त्रिपक्षीय बैठक हुनुलाई ऐतिहासिक क्षणका रूपमा व्याख्या गरे। उनले मतभेद भएका देशसँग संवाद नगरी समस्या समाधान हुन नसक्ने बताए।

सीको पाँचबुँदे जोड
बैठकमा सीले तीन देशबीच व्यापार र सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए। व्यापार तथा आपूर्ति शृङ्खला अवरुद्ध गर्नेभन्दा आपसी आर्थिक सम्बन्ध बलियो बनाउनुपर्ने उनको भनाइ थियो।
अमेरिकासँग ठूलो बजार, रुससँग प्राकृतिक स्रोत र चीनसँग उत्पादन क्षमता रहेको उल्लेख गर्दै तीनै देशले आ–आफ्नो सामर्थ्य उपयोग गरे सबैलाई लाभ हुने उनले बताए।
उनले ताइवानको विषयमा अमेरिकालाई सावधानीपूर्वक कदम चाल्न पनि आग्रह गरे। ताइवानसम्बन्धी कुनै कदमले चीन–अमेरिका सम्बन्धमा गम्भीर क्षति पुग्न नहुने उनको चेतावनी थियो।
त्यस्तै, विश्वका विभिन्न क्षेत्रमा जारी युद्ध र द्वन्द्व अन्त्य गर्न सम्बन्धित पक्षलाई वार्ताको टेबलमा ल्याउनुपर्ने सीले बताए। तीन देशले एकअर्कालाई साझेदार र मित्रका रूपमा व्यवहार गर्दै विश्वव्यापी चुनौती सामना गर्न सहकार्य गर्नुपर्ने उनको भनाइ थियो।
ट्रम्पका पाँच प्राथमिकता
ट्रम्पले इरानलाई परमाणु हतियार बनाउन नदिने अमेरिकी अडान दोहोर्याए। आणविक हतियारको संख्या घटाउने र तिनको प्रयोगको जोखिम न्यूनीकरण गर्ने विषयमा अमेरिका, चीन र रुसबीच छलफल हुन सक्ने उनले बताए।
उनले पुटिनसँगको द्विपक्षीय वार्तामा युक्रेन युद्ध प्रमुख विषय बनेको जानकारी दिँदै युद्ध अन्त्य हुनुपर्ने बताए। यसका साथै, अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर काम गरिरहेको भन्दै आलोचना गरे।
चीन, अमेरिका र रुसका राष्ट्रप्रमुखबीच पहिलोपटक त्रिपक्षीय बैठक, आणविक युद्ध न जित्न सकिने, न लड्नुपर्ने सीको भनाइ, पुटिनले विश्व शान्ति र सुरक्षाको साझा जिम्मेवारी तीनै देशको भएको बताए
होर्मुज जलडमरूमध्यबाट तेल तथा ग्यासको आपूर्ति निर्बाध हुनुपर्नेमा अमेरिका र चीनको समान चासो रहेको पनि ट्रम्पले बताए। इरानसँगको युद्धपछि उक्त क्षेत्रमा जहाज आवागमन प्रभावित भएको उनको भनाइ थियो।
चारबुँदे साझा वक्तव्य
चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीका अनुसार तीन नेताबीचको त्रिपक्षीय बैठक करिब ८० मिनेट चलेको थियो। बैठकपछि तीनै नेताले सञ्चारमाध्यमसँग प्रतिक्रिया दिएनन्।
रुसले बैठकपछि जारी साझा वक्तव्यको मस्यौदा सार्वजनिक गरेको छ। त्यसमा संयुक्त राष्ट्रसंघको संरचनामा सुधार, पेट्रोलियम उत्पादन तथा आपूर्ति बढाउने, सरकारी अधिकारीलाई उनीहरूको आधिकारिक कामका लागि अन्य देशका अदालतमा कानुनी कारबाहीबाट उन्मुक्ति दिने र आणविक हतियारको जोखिम घटाउन संवाद जारी राख्ने विषय समेटिएका छन्।
वक्तव्यमा आणविक युद्ध न जित्न सकिने र न कहिल्यै लड्नुपर्ने उल्लेख गरिएको छ। अन्तर्राष्ट्रिय फौजदारी अदालतले आफ्नो अधिकारको दुरुपयोग गर्न नहुने विषय पनि त्यसमा समेटिएको छ।
बैठक सकिएपछि पुटिन र ट्रम्प आ–आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेका थिए। ट्रम्प करिब २६ घण्टा चीनको सेन्जेनमा बसेर अमेरिका फर्किएका छन्।



प्रतिक्रिया